काठमाडौं– जाओ कान्सेलो र जाओ फेलिक्सको डेब्यू खेलमा बार्सिलोनाले जित निकालेको छ। नेपाली समयअनुसार आइतबार राति भएको ला–लिगाको चौथो खेलमा बार्सिलोनाले ओसासुनालाई २–१ गोल अन्तरले हराउँदै जित निकालेको हो।
पहिलो हाफको अतिरिक्त समयमा इल्के गुन्डोगनको कर्नर पासमा कुन्डेले हेडमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ७६औं मिनेटमा ओसासुनाका किम्मी एभिलाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
८५ औं मिनेटमा डि–बक्स भित्र लेवान्डोस्किलाई लडाएपछि बार्सिलोनाले पेनाल्टी पायो भने ओसासुनाका डिफेन्डर अलेजन्ड्रो काटेना रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए।
बार्सिलोनाले पाएको पेनाल्टीमा लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले खेल २–१ ले जित्यो। यो खेलमा भर्खरै म्यानचेस्टर सिटीबाट लोनमा बार्सिलोना आएका कान्सेलो र एथ्लेटिको मड्रिडबाट लोनमा आएका फेलिक्सले डेब्यू गरे।
कान्सेलो ५९औं मिनेटमा र फेलिक्स ८०औं मिनेटमा मैदान छिर्दै डेब्यू गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।