काठमाडौं– इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हालाण्डले युरोपको सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्। हालै अमेरिका पुगेका लियोनल मेसीलाई पछि पार्दै हालाण्डले ‘यूईएफए मेन्स प्लेअर अफ दी इयर’ को अवार्ड जितेका हुन्।
सिजन २०२२/०२३ मा गरेको पदर्शनको आधारमा भोटिङमार्फत् यो अवार्ड यूईएफएले घोषणा गरेको हो। जहाँ हालाण्डले मेसीलाई पछि पारे।
हालाण्डले ३५२ पोइन्ट्स ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी मेसीले जम्मा २२७ पोइन्ट्स ल्याए। त्यस्तै सिटीकै केभिन डी ब्रुयनाले २२५, हाल सिटीबाट बार्सिलोना पुगेका इल्के गुन्डोगनले १२९ र सिटीकै रोड्रीले ११० पोइन्ट्स ल्याए। एमबाप्पे भने ८२ पोइन्ट्स प्राप्त गर्दै छैटौं स्थानमा रहे।
युरोपको सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका २३ वर्षीय नर्वेका फरवार्ड हालाण्डले गत सिजनका ५२ खेलमा ५३ गोल गरेका थिए। हालाण्डको उत्कृष्ट प्रदर्शनमा सिटीले च्याम्पिन्स लिगसहित प्रिमियर लिग र एफए कपसहित ट्रिबेल उपाधि जितेको थियो।
त्यस्तै, उत्कृष्ट प्रशिक्षकको अवार्ड सिटीकै प्रशिक्षक पेप ग्वार्डिवालाले जिते। उनको प्रशिक्षणमा सिटीले ट्रिबेल उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।