काठमाडौं– स्पेनिस ला–लिगा क्लब बार्सिलोनाका फरवार्ड अंशु फाती इंग्लिस प्रिमियर लिग क्लब ब्राइटनमा आबद्ध भएका छन्। बार्सिलोनाबाट १ वर्षका फाती लोनमा ब्राइटनमा आबद्ध भएका हुन्।
बार्सिलोनामा आफ्नो स्थान बनाउन संघर्षरत रहेका फाती बेखुसी थिए। प्रशिक्षक जाभी हर्नान्डेजले प्राथमिकतामा नराखेपछि उनी क्लब छाड्ने मनस्थितीमा थिए। उनी अक्सर दास्रो रोजाइमा सब्सिच्युट खेलाडीको रुपमा मैदान छिर्दै आएका थिए।
अघिल्लो सिजन पनि उनले पहिलो रोजाइमा मैदान प्रवेश गर्ने अवसर कमै पाएका थिए। लियोनल मेसी बार्सिलोनामा छँदै उदाएका फातीलाई मेसीको उत्तराधिकारीको रुपमा हेरिएको थियो। मेसी बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) गएपछि उनको आइकनिक १० नम्बर जर्सी समेत फातीलाई दिइएको थियो।
तर फाती सन् २०२० मा गम्भीर चोटका कारण लामो समय मैदान बाहिर रहे। त्यसपछि मैदानमा फर्किएका उनी आफ्नो पुरानो लयमा फर्कन संघर्षरत छन्।
जारी सिजनमा ला–लिगाका ३ वटा खेल सकिँदा फातीले जम्माजम्मी ४७ मिनेट मात्रै मैदानमा बिताएका थिए। उनले गेटाफेविरुद्ध जम्मा ११ मिनेट, काडिजविरुद्ध २२ मिनेट र भिल्लारियलविरुद्ध १४ मिनेट मैदानमा बिताएका थिए।
राफिन्हा रातो कार्डका कारण दुई खेलमा प्रतिबन्ध लाग्दा उनका ठाउँमा सुरुवाती क्रममै फातीले मौका पाउने आशा गरिएको थियो। तर प्रशिक्षकले फातीप्रति विश्वास नदेखाइ लामिने यामललाई मैदानमा उतारेका थिए। यामलले भने आफूलाई प्रमाणित समेत गरे।
बार्सिलोनामा रहँदा जम्मा ११२ खेल खेलेका फातीले २९ गोल र १० असिस्ट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।