काठमाडौं– साफ यू–१६ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको नेपाली किशोर फुटबल टोली बुधबार भुटानको थिम्पु प्रस्थान गरेको छ।
भुटानको थिम्पुमा शुक्रबारदेखि सुरु हुने साफ यू–१६ च्याम्पियनसिपको चौथो संस्करणमा चुनौति प्रस्तुत गर्ने नेपाली किशोर टोली त्यसतर्फ प्रस्थान गरेका हुन्।
उनीहरूलाई सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) मा बुधबार एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले शुभकामनासहित बिदाइ गरेका थिए। रवीन्द्र सिलाकारको प्रशिक्षणमा रहेको २३ सदस्यीय नेपाली बुधबार नै थिम्पु प्रस्थान गरेका छन्।
यसअघिका विजेताद्वय भारत र बंगलादेशको समूह ‘ए’ मा रहेको नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ। यो उमेरसमूहमा नेपालको किशोर टोलीले अहिलेसम्म उपाधि जित्ने सकेको छैन।
सन् २०११ देखि सुरु भएको साफ यू–१६ च्याम्पियनसिपमा अहिलेसम्म तीन संस्करण सम्पन्न भइसकेको छ। यसपटक भने नेपाल यसअघिका विजेताद्वय भारत र बंगलादेशलाई समूह चरणमा नै हराउँदै दाबेदारी प्रस्तुत गर्न चाहन्छ।
नेपालले आइतबार बंगलादेशविरुद्ध खेल्दै यस संस्करणको यू–१६ मा सुखद् सुरुवात गर्ने लक्ष्यमा छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको १४ दिनको प्रशिक्षण र अधिकांश एन्फा यू–१६ युथ लिग खेल खेलेका खेलाडी रहेकाले भुटानमा राम्रो प्रदर्शन गर्ने नेपाली टोलीको विश्वास छ।
नेपाली यू–१६ किशोर टोलीको गोलकिपरमा विशेष बानिया, पेम्बा भोटे र भक्तबहादुर परियार, डिफेन्डरमा एकराज विश्वकर्मा, किशन थापा, अरविन्दकुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशान्तराज लावत, किशोर कुमार दनवार र सरन एसके छन्।
मिडफिल्डरमा सुजल स्याङ्तान, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, राम थामी, दिलन लिम्बू र फरवार्डमा सन्तोष गोङ्बा, रोहित श्रेष्ठ, हिमेश माझी र दर्शन अधिकारी छन् । च्याम्पियनसिपमा सेप्टेम्बर १ देखि १० सम्म भुटानको राजधानी थिम्पुमा हुनेछ।
६ टोलीको सहभागी रहने प्रतियोगितामा समूह ‘बी’ मा आयोजक भुटान, माल्दिभ्स र पाकिस्तान छन्। भुटानले पछिल्ला समय युथ फुटबलमा राम्रो गरिरहेको छ। त्यसले यो समूहबाट पूर्वच्याम्पियन भुटान र पाकिस्तानले दाबेदारी दिनसक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।