काठमाडौं– भारतीय बजारमा पेट्रोलियम (पेट्रोल र डिजेल) पदार्थको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
भारतीय आयल निगमले आफ्नो आधिकारिक वेबसाइटमा उल्लेख गरे अनुसार भारतीय बजारमा पेट्रोलको मूल्य प्रतिलिटर ८६ भारतीय रुपैयाँ (भारु)सम्म पुगेको छ भने डिजेलको मूल्य ७५ भारुसम्म पुगेको छ। यो हालसम्मकै सर्वाधिक उच्च हो।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि भएको र अमेरिकी डलरको मूल्य समेत बढ्दा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७७ अमेरिकी डलरभन्दा बढी पुगेको छ। त्यस्तै, डलरसँगको विनिमय दर ७१ भारुभन्दा बढी छ।
नेपालको पेट्रोलियम स्रोत मुलुक भारत भएकाले त्यहाँ पेट्रोलियमको मूल्य बढ्दा त्यसको असर नेपालमा पर्ने गरेको छ।
सोमबारको भारतीय बजारमा पेट्रोलियमको मूल्य हेर्दा डिजेलको मूल्य दिल्लीमा ७१ दशमलव १५, कोलकत्तामा ७४, मुम्बईमा ७५ दशमलव ५४ र चेन्नइमा ७५.१९ भारु पुगेको छ। त्यस्तै, पेट्रोलको मूल्य दिल्लीमा ७९ दशमलव १५, कोलकत्तामा ८२ दशमलव ०६, मुम्बईमा ८६ दशमलव ५६ र चेन्नइमा ८२ दशमलव २४ भारु छ। यो भारतीय बजारको सर्वाधिक मूल्य हो ।
‘अहिले भारतमा दैनिक रुपमा पेट्रोलियमको मूल्य बढिरहेको छ,’ नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई भने। ‘भारतमा बढेको यो मूल्यले निगमलाई मूल्य समायोजनमा धौ–धौ परेको छ’ उनले भने।
नेपालको सन्दर्भ जोड्दा पछिल्लो एक महिनामै डलरको भाउ ३ रुपैयाँ ९२ पैसाले बढेको छ भने अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ५ दशमलव ३ अमेरिकी डलर वृद्धि भएको छ।
अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्य र डलरको विनिमय दरको उच्च वृद्धि अनुसार भारतीय बजारमै पेट्रोलियमको मूल्य बढ्दा नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको छ ।
निगमका अनुसार अहिले प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ११ पैसा घाटा छ भने डिजेलमा २ रुपैयाँ ८४ पैसा घाटा छ । समग्र पेट्रोलियमको कारोबारमा यी दुई पदार्थको हिस्सा ९० प्रतिशतभन्दा बढी पुग्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।