काठमाडौं– स्पेनिस ला–लिगामा डेफेन्डिङ च्याम्पियन बार्सिलोनाले जित निकालेको छ। नेपाली समयअनुसार आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियलमाथि ४–३ को रोमान्चक जित निकालेको हो।
खेलको १२औं मिनेटमा १६ वर्षीय युवा खेलाडी लामिने यामलको क्रस पासमा गाभीले हेडमार्फत् गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यसको ३ मिनेटपछि १५औं मिनेटमा फ्रेन्की डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए।
त्यसपछि लगातार ३ गोल खाँदै बार्सिलोना ३–२ को स्थितीमा पुगेको थियो। भिल्लारियलका लागि लतातार ३ गोल गर्ने क्रममा २६औं मिनेटमा फ्योथले, ४०औं मिनेटमा सोलोर्थ र ५०औं मिनेटमा बेनाले गोल गरे।
२ गोलको अग्रता जोगाउन नसक्दा ३–२ को स्थितीमा पुगेको बार्सिलोनाले त्यसपछि उत्कृष्ट पुनरागमन गर्यो। सब्सिच्युट खेलाडी फेरान टोरेसले ६८औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।
७१औं मिनेटमा यामलले गरेको प्रहार पोस्टबारमा लागेर फर्केको बललाई लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले खेल ४–३ को अन्तरले जित्यो। खेलको म्यान अफ दि म्याच युवा खेलाडी यामल घोषित भए।
ला–लिगाकै अन्य खेलहरुमा ओसासुनाले भ्यालेन्सियालाई २–१ ले हरायो। एथ्लेटिक बिल्बाओले रियल बेटिसलाई ४–२ गोल अन्तरले हरायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।