काठमाडौं– मनाङ जिल्लाका विभिन्न स्थानमा याक र हिउँ चितुवाको संरक्षणका लागि मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिने भएको छ।
बायोकोस नेपाल (जैविक विविधता संरक्षण समाज नेपाल) र एन्ट फाउडेशनको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको हो।
आइतबारर बायोकोस नेपाल र एन्ट फाउडेशनले नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलनको आयोजना गर्दै भदौ २५ देखि २७ गतेसम्म मैत्रीपूर्ण खेलको आयोजना गर्न लागिएको जानकारी गराएको छ।
उक्त मैत्रीपूर्ण फुटबल प्रतियोगितामा टिम हिमालयन, टिम कान्जिसरा, टिम पिसाङ गरी तीनवटा क्लबले भाग लिने एन्ट फाउडेसनका अध्यक्ष प्रशान्त ताम्राकारले जनाकारी दिए।
स्थानीय जनताले हालसम्म मनाङमा गरेको प्रकृति संरक्षणलाई सम्मान गर्दै स्थानीय युवाहरुलाई हिउँ चितुवा, याकलगायतका वन्यजन्तु संरक्षणमा अभिप्रेरित गर्ने उद्देश्यका साथ फुटबल प्रतियोगिताको आयोजना गरिएको बायोकोस नेपालका अध्यक्ष डा पारस विक्रम शाहले जनाएका छन्।
मैत्रीपूर्ण फुटबल प्रतियोगिता जिल्लाको तिमाङ, पिसाङ र मुङजीमा अवस्थित मैदानमा हुने भएको छ। फुटबल प्रतियोगितामा सेलिब्रेटी टिम हिमालयन स्रो लेपर्ड (राष्ट्रिय स्तरका ख्याती प्राप्त खेलाडीहरु, कलाकार, गायक, विभिन्न सौन्दर्य प्रतियोगिताका विजेताहरु) र स्थानीय खेलाडी टिम कान्जिसरा याक, पिसाङ याक र मनाङ याक (स्थानीय युवाहरु)बीच मैत्रीपूर्ण खेल २५ गते तिमाङमा, २६ गते पिसाङमा र २७ गते मुङजी ब्राकामा अवस्थित फुटबल मैदानमा आयोजना हुने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।