काठमाडौं- १० खेलाडीमा सिमित वेस्टहाम युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ। आइतबार राति भएको खेलमा वेस्टहामले चेल्सीलाई ३–१ ले हराउँदै जित महत्वपूर्ण निकालेको हो।
खेलको सातौं मिनेटबाटै वेस्टहामले चेल्सीमाथि अग्रता बनाएको थियो। सातौं मिनेटमा वार्ड प्रोजको पासमा अगुएर्डले गोल गर्दै वेस्टहामलाई अग्रता दिलाएका थिए। तर २८औं मिनेटमा चुकुउमेकाले गोल गरेपछि चेल्सी बराबरीमा फर्कियो।
४३औं मिनेटमा चेल्सीले पाएको पेनाल्टी फर्नान्डेजले मिस गरेपछि अग्रता बनाउन चेल्सी चुकेको थियो। पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा थप २ गर्दै वेस्टहामले ३-१ को जित निकाल्यो। ५३औं मिनेटमा वार्ड प्रोजकै पासमा एन्टोनिओले गोल गर्दै पुनः वेस्टहामलाई अग्रता दिलाए।
६७ औं मिनेटमा अगुएर्ड दोहोरो पहँलो कार्ड खाँदै मैदान बाहिरिएपछि वेस्टहाम १० खेलाडीमा सीमित भएको थियो। दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत लुकास पाक्वेटाले गोल गरेपछि वेस्टहामले ३-१ को जित निकाल्यो।
आइतबार नै भएको अर्को खेलमा एस्टन भिल्लाले इभर्टनमाथि ४-० को जित निकाल्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।