काठमाडौं– लिग वानका दुई खेल खेल्दा पनि पेरिस सेन्ट जर्मेन (पीएसजी) जितविहीन बनेको छ। डिफेन्डिङ च्याम्पियन पीएसजी यो सिजनका सुरुवाती दुबै खेलमा बराबरीमा रोकिएको हो।
सुरुवाती खेलमा केलियन एमबाप्पेबिनै पीएसजी मैदानमा उत्रिएको थियो। त्यतिबेला लोरिन्टेसँग गोलरहित बराबरीमा रोकिएको थियो।
शनिबार राति भएको दोस्रो खेलमा भने आफ्ना स्टार एमबाप्पेसहित मैदानमा उत्रिएको पीएसजी पुनः बराबरीमा रोकियो। टुलुजविरुद्धको खेलमा पीएसजी १–१ को बराबरीमा रोकियो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा दुबै टिमले पेनाल्टीमार्फत् १–१ गोल गरेका थिए।
६२औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। ८७औं मिनेटमा टुलुजले पाएको पेनाल्टीमा अबुखलालले गोल गरेपछि पीएसजी पुन: अंक बाँड्न बाध्य भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।