काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रन-वे) मर्मतका लागि भएको चौथो पटकको टेन्डरमा एउटा मात्रै कम्पनीको आवेदन परेको छ। बढी समस्या रहेको धावनमार्ग मर्मत तथा वर्षभरि गरिने नियमित मर्मतका लागि गरिएको टेन्डरमा गौरीपार्वती कम्पनीले मात्रै चासो देखाएको हो।
विमानस्थल कार्यालयले तीन पटकसम्म ८ करोड रुपैयाँमा काम गर्नुपर्ने भन्दै गरेको टेन्डरमा कुनै पनि कम्पनीले चासो नदेखाएपछि चौथो पटक झन्डै १ करोड रुपैयाँ बढाएर टेन्डर गरेको थियो।
विमानस्थल इन्जिनियरिङ महाशाखाले अब टेन्डरमा सहभागी कम्पनीको प्राविधिक विषयमा अध्ययन गर्नेछ। प्राविधिक रुपमा सफल भएको अवस्थामा कम्पनीसँग आर्थिक प्रस्ताव मागिने महाशाखा प्रमुख मुरारी भण्डारीले जानकारी दिए। ‘धावन मार्ग मर्मतका लागि वर्षा सिजनअगाडि नै कम्पनी छनोट गर्ने गरी तयारी गरिएको थियो’, महाशाखा प्रमुख भण्डारीले भने, ‘मर्मतका लागि तीन पटकसम्म भएको टेन्डरमा कसैले पनि चासो नदेखाउँदा कम्पनी छनोट हुन सकेको थिएन।’
कम्पनी छनोट हुन नसक्दा महाशाखाले यसअघि नियमित काम गर्दै आएको काष्ठमण्डप उमा कम्पनीसँग थप ६ महिनाको समय थप गर्दै धावनमार्ग मर्मत गर्दै आएको थियो।
अब कम्पनीले एक महिनाभित्रै धावनमार्ग मर्मतका लागि कम्पनी छनोट गर्ने गरी काम थालनी गरेको उनको भनाइ छ। नयाँ कम्पनी छनोट भए तत्काल बढी समस्या देखिएको धानवमार्गमा कटिङ गर्दै मर्मत गर्ने र आगामी असार मसान्तसम्म धावनमार्गको नियमित मर्मत गर्ने जिम्मा पाउनेछ।
धावनमार्गमा अहिले जहाज अवतरण गर्दा टेक गर्ने विन्दु लगायत ट्याक्सी-वेको सी र डी खण्डमा बढी समस्या देखिएको छ। बारम्बार धावनमार्गको पिच उप्कँदा दैनिक ३ देखि ४ पटकसम्म न्यूनतम २० मिनेटदेखि ४५ मिनेटसम्म जहाजलाई आकशमै होल्ड गराएर काम गर्नुपर्ने बाध्यता छ।
सन् १९८० को दशकमा निर्माण भएको धावनमार्गमा पछिल्लो समय बढी नै समस्या देखिएको भण्डारी बताउँछन्। केही महिनाअगाडि देखि ठूला जहाज अवतरण गर्नेबित्तिकै रन-वेको पिच उप्कने गरेको थियो। महाशाखाले अहिले पनि वार्षिक दुई करोड रुपैयाँभन्दा बढी रकम धावनमार्ग टालटुलमै खर्च गर्दै आएको छ।
रन-वे पिच परिवर्तन (रिह्याबिलिटेसन) का लागि टेन्डर
हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले रन-वे पिच परिवर्तन (रिह्याबिलिटेसन) का लागि समेत टेन्डर गरिसकेको छ। आयोजनाले पिच परिवर्तनका लागि प्राविधिक रूपमा छनोट भएका चार कम्पनी छनोटसँग आर्थिक प्रस्ताव माग गरेको हो।
रन-वे पिच परिवर्तनका लागि करिब दुई वर्षअगाडि नै ग्लोबल टेन्डर भएको थियो। टेन्डरमा सहभागी ११ कम्पनीमध्ये चार कम्पनी मात्रै प्राविधिक रुपमा सक्षम रहेको भन्दै छनोट गरिएको छ। आयोजनाको कार्यालयले करिब साढे ३ अर्ब रुपैयाँमा काम गर्ने गरी चार कम्पनीसँग आर्थिक प्रतिस्पर्धाका लागि टेन्डर गरेको हो। यसमा चाइना रेल-वे नम्बर फाइभ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड, चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन, चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिटेड र बेइजिङ चाङदो म्युनिसिपल इन्जिनियरिङ ग्रुप छन्।
अब आयोजन कार्यालयले यी चार कम्पनीमध्ये सबैभन्दा थोरै रकममा काम गर्न कबुल्ने कम्पनी छनोट गर्नेछ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि सन् २०१९ को फेब्रुअरी २८ देखि विमानस्थल बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म पूर्ण रूपमा बन्द गरी रन-वेको पिच परिर्वतन सुरु गर्ने तालिका तय गरिसकेको छ। रन-वेको पिच परिवर्तन गर्न १८ महिना लाग्ने भए पनि पहिलो चरणमा सबैभन्दा बढी समस्या रहेको रन-वेको पिच परिर्वतन गर्ने गरी तालिका तय भएको छ।
विमानस्थलको कोटेश्वरतर्फको ०२ रनवेको १६ सय मिटरमा बढी समस्या देखिएको छ। रन-वेको कतिपय ठाउँमा ३० सेन्टिमिटरसम्म माटो निकालेर नयाँ पिच हाल्नुपर्ने अवस्था रहेको प्राधिकरणले जनाएको छ। साथै प्राधिकरणले दैनिक ८० मिटरका दरले पिच परिर्वतन गर्ने योजना अगाडि सारेको छ। यस्तै, ट्याक्सी-वेको कतिपय स्थानमा ५३ सेन्टिमिटरसम्मको संरचना परिवर्तन गर्नुपर्ने अवस्था छ।
पिच परिवर्तनका लागि निर्माण कम्पनीसँग सम्झौता भएको चार महिनासम्ममा रन-वेको काम गर्ने र त्यसपछि मात्रै ट्याक्सी-वेको पिच परिवर्तनको काम हुने प्राधिकरण महानिर्देशक सञ्जीव गौतमले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।