काठमाडौं– कुनै समय बैंक तथा वित्तीय संस्थाको सेयर खरिद गर्नुलाई ठूलो प्रतिष्ठाको विषय मानिन्थ्यो। सर्वसाधारण घण्टौं लाइन लागेर भएपनि सेयर खरिद गर्न आतुर हुन्थे। पछिल्लो समय निरन्तर ओरालो लागेको सेयर बजारका कारण ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाको सेयरसमेत घटेको छ। यसबाट पुराना लगानीकर्तालाई समस्यामा पारेको भएपनि नयाँ लगानीकर्तालाई भने अवसर प्रदान गरेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार ९ बैंक तथा वित्तीय संस्थाको सेयर आधारभूत मूल्यकै हाराहारीमा रहेको छ। सेयर बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि यो सुखद् समय भएपनि कारोबार गरिरहेका लगानीकर्तालाई भने बजार घटेका कारण समस्या भएको छ। घट्दो बजारका कारण ठूला बैंककै सेयर आधारभूत मूल्यकै तहमा आइपुग्दा नयाँ लगानीकर्तालाई लगानीको अवसर प्रदान गरेको छ।
स्टकका अनुसार सेञ्चुरी बैंकको प्रतिसेयर मूल्य रु १ सय ६९ रहेको छ। गतवर्ष भदौ दोस्रो साता पनि सो बैंकको शेयर मूल्य २ सय २७ रहेको थियो। यस्तै, सिभिल बैंकको सेयर पनि घटेको छ। सो बैंकको प्रतिसेयर मूल्य १ सय ४८ रहेको छ। गत वर्ष भदौमा सो बैंककोे सेयर २ सय ३० मा खरिद बिक्री भएको थियो।
जनता बैंकको सेयर प्रतिकित्ता १ सय ५३ मा खरिद बिक्री भएको छ। गत बिहीबारको तथ्याङ्क अनुसार सो सेयर निरन्तर ओरालो लाग्दै गएको छ। गतवर्ष भदौमा सो बैंकको सेयर २ सय ५४ मूल्यमा खरिद बिक्री भएको थियो। यस्तै, मेगा बैंक लिमिटेडको शेयर १ सय ६१ मूल्यमा खरिद बिक्री भएको छ। गतवर्ष ४ सय ४९ मा कारोबार भएको सो बैंकको सेयर निरन्तर ओरालो लागेको छ।
माछापुच्छ्रे बैंकको सेयर पनि दोस्रो बजारमा कमजोर देखिएको छ। सो बैंकको सेयर गत बिहीबार रु २ सय ४ मा खरिद बिक्री भएको थियो। गतवर्ष भदौमा समेत सो बैंकको सेयर रु ३ सय २७ कारोबार भएको थियो। सेयर बजारमा नेपाल बंगलादेश बैंक कमजोर देखिएको छ। सो बैङ्कको सेयर रु १ सय ९९ मा कारोबार भएको छ।
गत वर्ष भदौमा सो बैंकको सेयर रु ३ सय ३२ मा खरिद बिक्री भएको थियो। एनसिसी बैंकको सेयर पनि ओरालो लागेको छ। सो बैंकको सेयर प्रतिकित्ता रु १ सय ८० मा बिक्री भएको थियो। गतवर्ष भदौमा रु ३ सय ६४ मा खरिद बिक्री भएको थियो।
यस्तै, प्रभु बैंकको सेयर प्रतिकित्ता रु १ सय ८० मा खरिद बिक्री भएको छ। गत वर्ष भदौमा रु ३ सय ७० मा कारोबार भएको थियो। सिटिजन बैंकको प्रतिकित्ता शेयर रु २ सय ३५, ग्लोबल आइएमई बैंको २ सय ९६, लक्ष्मी बैंकको २ सय ३३, बैंक अफ काठमाडौंका२ सय ८९, नेपाल बैंक लिमिटेडको २ सय ८६, एनएमबी बैंकको ३ सय १६, प्राइम बैंकको २ सय ९५, सनराइज बैंकको २ सय २०, एनआइसी एसिया बैंकको ३ सय ४० तथा सानिमा बैंकको प्रतिकित्ता सेयर रु ३ सय २० मा कारोबार भएको छ।
तीन बैंकको सेयर मात्रै बढी
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत २७ वाणिज्य बैंकमध्ये ३ बैंकको शेयर मात्रै ५ सय माथि रहेको छ। स्ट्याण्डर्ड चार्टड बैंककोे प्रतिकित्ता शेयर रु ७ सय १५ मा कारोबार भएको छ। गत वर्ष २ हजार २ सय १ मा कारोबार भएको सो बैंकको सेयर मूल्य घट्दै गएको छ। नबिल बैंक लिमिटेडको प्रतिकित्ता सेयर रु ९ सय ४७ मा कारोबार भइरहेको छ।
गत वर्ष सो बैंकको शेयर रु १ हजार ६ सय ६५ मा खरिद बिक्री भएको थियो। एभरेष्ट बैंक लिमिटेको सेयर मूल्य रु ६ सय ५८ रहेको छ। गत वर्ष रु १ हजार २ सय ६६ मा कारोबार भएको थियो। नेपाल एसबिआई बैंकको सेयर रु ४ सय ९३ मा कारोबार भएको छ।
नयाँ लगानीकर्तालाई अवसर
शेयर बजार विश्लेषक प्रकाश तिवारी सुरक्षित लगानी गर्न चाहनेलाई बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गर्ने अवसर रहेको बताउँछन्। चाँडो फाइदा खोज्ने र थोरै लगानी गरेर धेरै नाफा खोज्नेलाई भने वित्तीय क्षेत्रभन्दा अन्य क्षेत्र नै उपयुक्त रहेको उनको भनाइ छ।
सामान्यताः बैंक तथा वित्तीय संस्थाको सेयरमा जोखिम कम हुने भएकाले पनि नागरिकको आर्कषण रहने गर्दछ। ‘वियरिस ट्रेन्ड’ मा रहेको बजारको प्रभाव सो क्षेत्रमा समेत परेको छ। विश्लेषक तिवारी ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाको सेयर आधरभूत मूल्यका हाराहारीमा रहनु नयाँ लगानीकर्ताका लागि अवसर भएको दाबी गर्छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।