काठमाडौं मानिसका लागि इन्टरनेट अनिवार्य आवश्यकताजस्तै बन्दै गएको छ। अहिलेको नयाँ पुस्ता त घरमा बस्दा होस् या बाहिर कतै पार्क, समारोहमा जाँदा होस् इन्टरनेट बिना समय बिताउन गाह्रो मान्छन्।
यही अवस्थालाई ध्यानमा राखेर काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा ‘फ्रि वाइफाई’ घोषणा गरेको छ। वल्ड लिङ्कसँगको सहकार्यमा महानगरले आइतबारदेखि महानगरपालिकाका ६ स्थानलाई ‘फ्रि वाइफाई’ क्षेत्र घोषणा गरेको छ ।
उक्त घोषणासँगै महानगरका प्रमुख सम्पदा क्षेत्रहरू बसन्तपुर, बौद्ध, स्वयम्भू, शंखपार्क, बालाजु बाइसधारा र पशुपति क्षेत्र ‘फ्रि वाइफाई’ क्षेत्र भएका छन् ।
सम्पदा क्षेत्रमा ‘फ्रि वाइफाई’ सेवाको उद्घाटन गर्दै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विद्युतीय शासन र महानगरबासीलाई उपलब्ध गराइने सुविधामा महानगरको घोषित नीति बमोजिम सेवा सुरु भएको बताए।
सम्पदा क्षेत्र र पार्कमा ‘फ्रि वाइफाई’ सेवा सञ्चालन गर्ने सम्बन्धमा गत १८ जेठमा महानगरपालिका र वल्र्ड लिङ्कबीच सम्झौता भएको थियो।
वाइफाइ जडानसम्बन्धी गरिएको अध्ययन अनुसार एक पटकमा वाइफाइका प्रयोगकर्ताको न्यूनतम संख्यालाई आधार मानेर हरेक स्थानमा १० एमविपिएस् व्यान्विथ क्षमताका उपकरण जडान गरिएका छन्। जसमा पशुपति क्षेत्रमा ११ वटा एक्सेस प्वाइन्ट राखिएका छन् भने बौद्धमा ४ वटा, शंखपार्कमा २ वटा, बालाजु बाइसधारा उद्यानमा ७ वटा, स्वयम्भूमा ५ वटा र बसन्तपुरमा ९ वटा प्वाइन्ट छन्।
अहिले जडान गरिएका उपकरणबाट, पशुपति क्षेत्रमा एक पटकमा २ सयदेखि ७ सय जनासम्म एकै पटक वाइफाइमा जोडिन सक्छन्। त्यस्तै बौद्धमा २ सय ५० जनादेखि ५ सय जना, शंखपार्कमा ५० देखि २ सय जना, बालाजुमा २ सय देखि ७ सय जना, स्वयम्भूमा २ सयदेखि ३ सय जना, बसन्तपुरमा २ सयदेखि ३ सय जनासम्मले एकै पटक सेवा लिन सक्नेछन्।
काठमाडौं महानगर क्षेत्रलाई ‘फ्रि वाइफाई’ क्षेत्र बनाउने प्रयासको परीक्षण भइरहेको मेयर शाक्यले बताए।
यसरी चल्छ वाइफाई
सेवा जडान भएका क्षेत्रमा स्मार्टफोन प्रयोगकर्ता पुगेपछि सिस्टमले नेटवर्क भएको नोटिफिसन पठाउँछ। यसमा थिचेपछि एउटा पेज खुल्छ। पेजमा प्रयोगकर्ताले नाम र मोबाइल नम्बर भर्नुपर्छ।
यसरी विवरण भरिसकेपछि सिस्टमले मोबाइलमा कोड पठाउँछ। त्यो कोड भरिसकेपछि वाइफाइ चलाउन सकिन्छ। सेवामा सबैको पहुँच पुगोस् र दुरुपयोग नहोस् भन्नका लागि प्रयोगकर्तालाई एक पटकमा ३० मिनेट समय दिइने व्यवस्था गरिएको छ। ३० मिनेट पुगेपछि सिस्टमले उसलाई त्यस दिनका लागि कनेक्सन हुन रोक्छ। तर उसका लागि अर्को एक्सेस प्वाइन्ट भने खुल्ला नै रहनेछ।
महानगरको सूचना प्रविधि शाखा प्रमुख राम सापकोटाका अनुसार एक जना प्रयोगकर्ताले एकै दिनमा एउटै डिभाइस ९फोन वा ल्यापटप० बाट सेवा लिँदा दोश्रो पटकदेखि इमेल ठेगाना समेत उपलब्ध गराउनु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।