काठमाडौं–सरकारले साहसिक पर्यटकीय गतिविधिमा सहभागी हुने विदेशी पर्यटकले अनिवार्य रूपमा बीमा गर्नुपर्ने नयाँ व्यवस्थासहित पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमन कार्यविधि २०७५ जारी गरेको छ।
पदयात्रा, जलयात्रा, पर्वतारोहण तथा अन्य साहसिक पर्यटकीय गतिविधिमा पर्यटकलाई पर्न सक्ने प्राकृतिक वा अन्य विपत्तिहरूबाट हुने प्रभावलाई न्यूनीकरण गर्न भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि जारी गरेको हो। मन्त्रालयले तय गरेको कार्यविधि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गत शुक्रबार स्वीकृत गरेका हुन्।
कार्यविधिमा खोज, उद्धार तथा उपचार कार्यलाई छिटोछरितो, सहज, सरल, व्यवस्थित, विश्वसनीय, सुरक्षित एवम् मितव्ययी बनाउँदै यस्ता गतिविधिमा पठाउने आधिकारिक एजेन्सीलाई जिम्मेवार बनाउने कार्यविधि जारी भएको छ।
इजाजतपत्र नलिई साहसिक कार्य गराउन नपाइने
जारी कार्यविधिमा पर्यटन विभागबाट इजाजतपत्र नलिई कसैले पनि पर्यटकलाई साहसिक कृयाकलापमा संलग्न गर्न वा गराउन नपाइने उल्लेख छ। एजेन्सीले पथप्रदर्शक साथमा लगाएर मात्र पर्यटकलाई साहसिक कृयाकलापमा संलग्न गराउनु पर्ने हुन्छ।
पर्यटकसँग जाने पथप्रदर्शकले सम्बन्धित विषयमा तालिम प्राप्त गरी सम्बन्धित निकायबाट इजाजत लिएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ। साहसिक क्रियाकलापमा संलग्न पर्यटकलाई सुरक्षित तवरले गन्तव्यमा पुर्याउने र फर्काउने दायित्व सम्बन्धित एजेन्सी वा पदप्रदर्शकको नै हुने कार्यविधिमा उल्लेख छ।
पर्यटकहरूबाट साहसिक क्रियाकलाप सम्बन्धी कार्यहरू सम्पादन हुने क्रममा हुनसक्ने सम्भावित दुर्घटना तथा जोखिमका बारेमा पर्यटकलाई पूर्व जानकारी गराउनु पर्छ। जानकारी गराउने कर्तव्य पनि एजेन्सीको नै हुने कार्यविधिमा उल्लेख छ।
साहसिक गतिविधिमा संलग्न पर्यटकको सुविधालाई ध्यानमा राखी प्राथमिक उपचार, स्वस्थकर खानपान र उचित बासस्थान मिलाउनु पर्ने कर्तव्य पनि एजेन्सीको नै हुने उल्लेख छ।
पर्यटकको खोज तथा उद्धार
साहसिक पर्यकीय गतिविधिमा सहभागी हुँदा हुने प्राकृतिक तथा अन्य विपतबाट प्रभावित भई कुनै पर्यटक वा सहयोगी कामदार हराएमा वा बेपत्ता भएमा तत्काल खोजी गर्ने दायित्व पनि एजेन्सीको नै हुने कार्यविधिमा उल्लेख छ।
एजेन्सीबाट खोजी गर्न सम्भव नभएको अवस्थमा छुट्टै खोज तथा उद्धारको आवश्यकता परेमा विशेषज्ञ व्यक्ति, संघसस्था, एजेन्सी, वायुयानको सहयागे लिनुपर्ने नयाँ व्यवस्था गरिएको छ। विपतमा परेको पर्यटकको स्वास्थ्यमा देखिएको समस्या र सम्भावित उपचार खर्चको लागतको विवरण सम्बन्धित एजेन्सीलाई नै दिनुपर्ने कार्यविधिमा उल्लेख छ।
उद्धार गरी उपचारका लागि ल्याइएका पर्यटकको उपचारमा संलग्न अस्पताल वा स्वास्थ्य संस्थाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, नियम, मापदण्ड र निर्देशनको प्रतिकूल नहुने गरी जिम्मेवारीपूर्ण र व्यवसायिक मर्यादा अनुरुप गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।
यस्तैगरी कार्यविधिमा सम्बन्धित एजेन्सी एक्लैबाट पर्यटकको खोज तथा उद्धार सम्भव नभए यथाशीघ्र सोको सूचना पर्यटक प्रहरी तथा पर्यटन विभागलाई गराउनु पर्ने व्यवस्था गरिएको छ।सूचना जारी गर्दा उद्धार गर्नुपर्ने पर्यटकको नाम, राष्ट्रियता, राहदानी नम्बर वा अन्य कुनै परिचय खुल्ने परिचय पत्र नम्बर, खोज तथा उद्धार गर्न जाने स्थान वा क्षेत्र, सहयोगको लागि अनुरोध गरिएका व्यक्ति,संघसंस्था,एजेन्सी, वायुसेवा वा हेलिकोप्टर कम्पनीहरूको एकिन विवरण खुलाउनु पर्ने कार्यविधिमा उल्लेख छ।
पर्यटक उद्धारमा संलग्न भएका सम्पूर्ण वायुसेवा प्रदायक कम्पनी वा हेलिकप्टर कम्पनीहरूले प्रत्येक सिजन समाप्त भएको पन्ध्र दिनभित्र आफूले उद्धार उडान गरेको संख्या, स्थान तथा भाडा रकम सहितको विवरण समेत बुझाउनु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।