काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) रहेको छ।
आज (मंगलबार) बिहानसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मंगलबार दिउँसो मधेस, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा धेरै भारी (अत्यधिक) वर्षाको पनि सम्भावना रहेको छ।
महाशाखाका अनुसार मंगलबार राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरुको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मंगलबार राति मधेस, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।