काठमाडौं– बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका विषयमा महान्यायाधिवक्ता दिनमणि पोखरेल र नेपाल प्रहरीका आईजी वसन्तबहादुर कुँवरबीच छलफल भएको छ। आइतबार भएको छलफलमा आवश्यक देखिए पूर्वप्रधानमन्त्रीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउन महान्यायाधिवक्ता पोखरेलले निर्देशन दिएका छन् ।
पोखरेलले नेपाल लाइभसँग कुराकानी गर्दै भने, ‘सर्वोच्चको फैसलापछि अनुसन्धानको दायरा फराकिलो भएको र आवश्यक देखिएका जो कोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउन खुल्ला रहेकाले सोही अनुसार अघि बढ्न भनेका छौँ।’
सोमबारको भेटलाई नियमित भएको बताउँदै पोखरेलले छलफल भने सर्वोच्चको फैसलापछिको विकसित घटनाक्रमका विषयमा केन्द्रित भएको बताए ।
आइतबार कुमार चुडाल र अनिलकुमार सिन्हाको इजलासले मन्त्रिपरिषद्को निर्णयमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो। त्यसपछि दुई पूर्वप्रधानमन्त्रीहरु डा बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि अनुसन्धान गर्ने बाटो खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।