काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था नसुध्रिने बताएका छन्।
देशकै सबैभन्दा पुरानो र ठूलो वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वीर अस्पताल नसुधारी देशको समग्र स्वास्थ्य अवस्था सुधार्न नसकिने भएकाले वीर अस्पताल सुधार्न आफू लागि परेको बताए।
आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको अढाई महिनामा वीर अस्पतालमा विपन्नदेखि भिआईपीसम्मका बिरामीले महसुस गर्ने गरी काम गरेको दाबी गर्दै मन्त्री बस्नेतले वीर अस्पताल सबै बिरामीका लागि सबै प्रकारका विशेषज्ञ सेवा प्राप्त हुने अस्पतालका रुपमा विकास गरेको बताए।
वीर अस्पतालका ७०० शय्या विपन्नका लागि नि:शुल्क गरेको, आकस्मिक कक्षमा शय्या संख्या बढाएको, ओपिडी सेवा बिहान ८ बजेदेखि बनाएको, अनलाइनबाट पनि टिकट काट्ने व्यवस्था लागू गरेको, भिआईपी र भिभिआईपी कक्ष दुईबाट बढाएर पाँच पुर्याएको र कर्मचारी समायोजन गरेको लगायतका सुधारको महसुस हुने गरि काम भएको बताए।
वीर अस्पताल सुधार्न यहाँको सिंगो टीमको अहं भूमिका रहेको मन्त्री बस्नेतले बताए। उनले भने, ‘वीरमा योग्य चिकित्सक र स्वास्थ्यकर्मी छन्। उहाँहरुको संयुक्त पहलबाट वीरमा सुधार सम्भव भएको छ।’ वीर अस्पताल गरिब, विपन्न मात्र नभएर भिआईपीहरुको उपचारको पनि केन्द्र हुनुपर्ने सरकारको योजना अनुसार काम अगाडि बढिरहेको मन्त्री बस्नेतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।