काठमाडौं– नेपाली काँग्रेसका नेता तथा तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादवले संविधान र वर्तमान राजनीतिक व्यवस्था जोगाउन युवाहरू एकताबद्ध हुनुपर्ने बताएका छन् ।
नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले युवाहरू आन्दोलन र जेल जानसमेत तयार हुनुपर्ने बताएका हुन् । उनले अहिलेको राजनीतिक परिस्थिति चुनौतीपूर्ण रहेको बताएका हुन् ।
पार्टी, संविधान र व्यवस्थाको संरक्षणका लागि काँग्रेस एक ढिक्का हुनुको विकल्प नरहेको उनको भनाई छ । वर्तमान सरकारले संविधान र व्यवस्थालाई उल्टाउन सक्ने उनको आरोप छ ।
उनले भने, ‘अहिलेको विषम राजनीतिक परिस्थितिमा प्रजातन्त्र जोगाउन, संविधान जोगाउन भोलि हुन सक्छ तपाईँ–हामीले आन्दोलन गर्नुपर्ने हुन्छ, जेल जानुपर्ने हुन्छ । त्यसका लागि पनि तयार हुनुस्, यो सरकार सन्काहा सरकार हो । जतिबेला जे पनि संविधान मास्न सक्छ, व्यवस्था मास्न सक्छ । त्यसका लागि सजग भएर तरुण दल बस्नुपर्छ ।’ उनले तरुण दलको संगठनभित्र एकता कायम राख्न आग्रह गर्दै पार्टी र संविधान संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण हुने बताए । नेपाली काँग्रेसको महाधिवेशनमा आफू मधेसी क्लस्टरतर्फबाट सहमहामन्त्री पदको उम्मेदवार रहेको जानकारी दिँदै उनले आफूलाई सहयोग गर्न पनि तरुणहरूलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।