काठमाडौं–एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा भारतसामु नेपाली टोली नाजुक स्थितिमा स्तब्ध भएको छ । ३३३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ११ दशमलव ३ ओभरमै मात्र २६ रनमै अलआउट भयो । सुरुवातमै दबाबमा परेको नेपालले लगातार विकेट गुमाउँदै गयो ।
नेपाली टिमका लागि इतिहासमै यति फराकिलो हार यो पहिलो पटक हो । यसअघिका भारतका कुनै पनि टोलीसँग नेपालले यति फराकिलो र लज्जास्पद हार व्यहोरेको थिएन । भारतका लागि प्रिन्स यादवले ५ ओभरमा मात्र ६ रन दिएर पाँच विकेट हात पारे भने हर्सित राणाले ४ विकेट लिए । सहबाज अमिदले १ विकेट हात पारे ।
नेपालका लागि पवन सर्राफ र रासिद खानले ६/६ रन बनाउँदा प्रतिश जीसीले ४ रन बनाए । ललित राजवंशीले २ रनमा अविजित रहँदा नन्दन यादवले पनि २ रन बनाए । कुशल भुर्तेल, अर्जुन कुमाल, बसिर अहमद, लोकेश बम र सन्दीप लामिछाने शून्य रनमै आउट भए भने दीपक डुम्रे १ रनमा आउट भए ।
त्यसअघि पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३३२ रन बनाएको थियो । उसका लागि दुई जना ब्याटरले शतक प्रहार गरे । कुमार कुशर्गाले ११७ रन बनाउँदा तीलक बर्माले १०७ रन बनाए । सूर्यान्स शेगडेले ३६ तथा वैभव सूर्यवंशीले २६ रन बनाए ।
नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले ३/३ विकेट लिँदा नन्दन यादवले २ र पवन सर्राफले १ विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।