वाशिंटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार संगठन (डब्लुटिओ)को सदस्यता रद्द गर्ने चेतावनी दिएका छन्। अमेरिकाप्रति गरिने संगठनको व्यवहार परिवर्तन नभए सदस्यता खारेजीको कदम चाल्न बाध्य हुने उनले बताएका हुन्।
‘यदि व्यवहार फरक नपारिए संगठनको सदस्यता फिर्ता लिन सक्नेछु’ अन्तरािष्ट्रय समाचार संस्था ब्लूमबर्ग भ्यूसँगको अन्तवार्ताका क्रममा ट्रम्पले भने।
विश्वव्यापी व्यापार सम्बन्ध स्थापना गर्न र विभिन्न राष्ट्रबीच उत्पन्न हुने व्यापारिक विषयका विवाद समाधान गर्न गर्ने गरी विश्व व्यापार संगठन स्थापना गरिएको हो।
संगठनले अमेरिकाप्रति अन्यायपूर्ण र विभेदकारी व्यवहार गरेको संरक्षणवादी नीति लिएका ट्रम्पले बताए।
बिहिबार दिएको अन्तवार्ताका क्रममा उनले भने ‘डब्लुटीओ स्थापना गर्न सन् १९९४ मा गरिएको समझदारी हालसम्मकै सर्वाधिक ठूलो भुल भयो’।
संगठनको सदस्यता खारेज गर्न सक्ने उनको अभिव्यक्तिले अमेरिकामा उनले लिएका नीति विवादमा पर्न थालेको र विश्व व्यापार संगठनले जोड दिने मुख्य पक्ष खुला तथा उदार व्यापार प्रणालीविरुद्ध कदम चाल्न थाल्न सक्ने संकेत मिलेको बताइएको छ।
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले विश्व व्यापार संगठनका गतिविधि एकपक्षीय र विभेदकारी भएको बतउँदै आएका थिए।
पछिल्लो समय अमेरिकाले व्यापार घाटा कम गर्न र आन्तरिक उद्योगको क्षमता विस्तार गर्न स्वदेशी उद्योगको संरक्षण गरिने नीति कार्यान्वयनमा ल्याउँदै आएका छन्। चीनबाट आयात हुने करीव ५० अर्ब डलर बराबरका सामग्रीमा अमेरिकाले कर लगाएको छ।
यसको प्रतीकार गर्दै चीनले पनि अमेरिकाबाट हुने आयातमा कर लगाउन थालेपछि व्यापरिक तनाव बढेको छ। अमेरिकी करका कारण उदीयमान अर्थतन्त्र भएका राष्ट्रको मुद्रा अवमूल्यनमा पर्न थालिसकेको छ। एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।