काठमाडौं– नेपाललाई ‘हिमालको देश’ भनेर चिन्निछ। नेपालको पर्यटन विकासलाई हेर्दा हिमाली पर्यटन नै अगाडि छ। विश्वको अग्लो शिखर सगरमाथादेखि विश्वका शिर्ष १० अग्गा चुचुरामध्ये ८ वटा हिमाल नेपालमै पर्दछन्।
अग्ला चुचुरा भएका कारण पनि सरकारलाई यो क्षेत्र राजश्व संकलनको मुख्य स्रोत मानिन्छ। वार्षिक हिमाल आरोहणबाट झन्डै आधा अर्ब भन्दा बढी राजस्व संकलन हुने गरेको छ। गत आव २०७४÷०७५ मा पर्यटन विभागले आरोहण र पदयात्रा शिर्षकबाट मात्रै ४६ करोड भन्दा बढी राजस्व संकलन गरेको थियो।
विभागले आरोहणमा हिमालको उचाइका आधारमा विदेशी र नेपालीलाई सिजन अनुसार फरक–फरक दर तोकेको छ।


विभागले विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहणमा विदेशीलाई बसन्त याममा ११ हजार डलर, शरदमा ५५ सय डलर र जाडो÷गर्मी सिजनका लागि २७ सय डलर तोकको छ। यस्तैगरी नेपाली आरोहीले भने वसन्तमा ७५ हजार रुपैयाँ, शरदमा ३७ हजार ५० रुपैयाँ र हेमन्त÷ग्रीष्म यामका लागि १८ हजार २ सय ५० रुपैयाँ आरोहण शुल्क बुझाउनुपर्ने हुन्छ।
२०१८ को तीन सिजनमा ९३४ ले गरे हिमाल आरोहण
पर्यटन विभागले एक साता अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा पेस गरेको तथ्यांकको आधारमा सन् २०१८ को हेमन्त, वसन्त र ग्रीष्म सिजनमा मात्रै ९ सय ३४ जनाले विभिन्न हिमाल आरोहण गरिसकेका छन्। जसअन्तर्गत हेमन्तमा ७, वसन्तमा ८ सय ४४ र ग्रीष्ममा ८३ जनाले हिमाल आरोहण गरिसकेका छन्।
यसअघि सन् २०१७ मा हिमाल आरोहण गर्नेको संख्या २ हजार २ सय २६ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।