काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी-२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताएका छन्। सम्मेलनमा सहभागी भएर बुधबार स्वदेश फर्किने क्रममा मन्त्री डा महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने, ‘जी-२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण र उपलब्धिमुलक रह्यो।’
मुलतः ३ वटा महत्वपूर्ण विषयमा छलफल भएको मन्त्री डा महतले बताए। उनले भने, ‘जुन नेपालको आर्थिक विकासका लागि उपलब्धि हुन्। पहिलो, जी-२० सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पायो। दोस्रो, भारत र चिनियाँ अर्थमन्त्रीहरुसँग महत्वपूर्ण भेटघाट र छलफल भयो। दुई पक्षीय भेटघाटमा लगानी र व्यापारका विषयमा छलफल भयो। तेस्रो, गुजरातमा रहेका उद्योग व्यवसायीसँग भेटघाट र छलफललाई उपलब्धि र महत्वका रुपमा लिनुपर्छ।’
जी-२० बैठकमा विकसित र अल्प विकसित राष्ट्रहरुको समूह हो, मन्त्री डा महतले भने, ‘नेपाल जी-२० को सदस्य होइन, तर आमन्त्रण गरेको हुनाले कम विकसित देशहरुको समस्या जी-२० को फोरममा राख्ने महत्वपूर्ण अवसर प्राप्त भयो। यस विषयमा सोमबार र मंगलबार लगातार ५–६ वटा विषयमा छलफल भयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।