वीरगञ्ज – सशस्त्र प्रहरी बलले पर्साका विभिन्न स्थानबाट १४ लाख ३६ हजार ६ सय ३५ रुपैयाँ बराबरका सामान र दुई वटा इ–लोडर बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल १३ गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट बिलबिजकबिनै दुई वटा इ–लोडरमा लोड गरी ल्याउँदै गरेका तीन लाख ३४ हजार ९ सय ४५ बराबरका कपडा, भाँडाकुँडा तथा किराना सामान बरामद गरेको गणका सूचना अधिकारी सुरज क्षेत्रीले जानकारी दिए ।
सामान ओसार्न प्रयोग गरिएका दुई वटा इ–लोडरको मूल्य १० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद सामान र इ–लोडर गरी १३ लाख ३४ हजार ९ सय ४५ रुपैयाँ बराबरको सामग्री कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी, वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको एक लाख एक हजार ६ सय ९० रुपैयाँ बराबरका किराना तथा कस्मेटिक सामान बरामद गरेको छ । ती सामान पनि कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।