



काठमाडाै
क्यानेडियन ओपनर युवराज सामराको आक्रामक शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमबार कर्णाली याक्सलाई विशाल लक्ष्य दिएको छ । टस जितेपछि ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय १७ रन बनाएको हो ।
एनपीएलमा यस सिजन पहिलो पटक कुनै पनि टोलीले २ सय रनको स्कोरलाई छोएका हुन् । सामराले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा ४८ बलमा १ सय २ रन बनाए । यस सिजनको एनपीएलमा बनेको यो पहिलो शतक हो ।
एनपीएलमा बनेको यो चौथो शतक हो, जसमा तीन पोखराका खेलाडीको नाममा छ । व्यक्तिगत खेलाडीले शतक बनाएको खेलमा पोखराले हारेको छैन । पोखरा यस पटक पहिलो चार खेलमै पराजित रहेको छ ।
२०२४ मा पोखराकै एन्ड्रेज हाउसले ५४ बलमा शतक पुरा गरेका थिए । लुम्बिनी लायन्सविरुद्धको सो खेलमा उनले सो खेलमा अविजित १ सय ४ रन बनाएका थिए । पोखराकै एडम रोसिङटनले गत वर्ष कर्णाली याक्सविरुद्ध नै ५४ बलमा शतक बनाएका थिए, उनले सो खेलमा ५८ बलमा अविजित १ सय ८ रन बनाएका थिए ।
गत वर्ष नै कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध ४१ बलमै शतक पुरा गरेका थिए, जुन एनपीएलमा सबैभन्दा कम बलमा बनेको शतकको कीर्तिमान हो । वाटले सो खेलमा ४४ बलमा अविजित १ सय १४ रन बनाएका थिए ।
सामराले ४८ बल खेली १० चौका र ६ छक्का प्रहार गरी मार्क वाटको बलमा आउट भए । माहेदी हसन १६ बल खेलि ५ रनमै आउट भएको अवस्थामा सामरा र कुशल भुर्तेलले दोस्रो विकेटका लागि ६८ बलमा १ सय ३६ रनको साझेदारी गरे । कुशलले ३९ बल खेली ७ चौका प्रहार गर्दै ६२ रन बनाए ।
कप्तान चामिका करुणारत्ने ११ बल खेलि समान ३ चौका र छक्का प्रहार गरी ३५ रनमा अविजित रहे । सन्नी विक ६ बलमा ३ रनमा अविजित रहे । कर्णालीका सोमपाल कामीले ४ ओभरमा २४ रन खर्चेर २ र वाटले १ विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।