काठमाडौं– क्यानेडियन ब्याटर युवराज सामराले जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो शतक प्रहार गरेपछि पोखरा एभेन्जर्सले कर्णाली याक्ससामु २१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २१७ रन जोड्यो । जारी सिजनमा कुनै पनि टोलीले बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो ।
पोखराको इनिङ्समा सामरा सर्वाधिक चम्किए । उनले ४८ बलको सामना गर्दै १० चौका र ६ छक्कासहित १०२ रन बनाए । मार्क वाटको बलमा आउट हुनुअघि उनले आक्रामक ब्याटिङ गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए ।
सामराले कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ६८ बलमै १३६ रनको साझेदारी गरे । कुशलले पनि ३९ बलमा ७ चौकाको मद्दतले ६२ रन बनाए ।
माहेदी हसन भने १६ बलमा ५ रन बनाएर आउट भए । कप्तान चामिका करुणारत्नेले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै ११ बलमा समान ३ चौका र छक्कासहित अविजित ३५ रन जोडे । सन्नी विक ६ बलमा ३ रन बनाएर नटआउट रहे ।
एनपीएलमा चौथो शतक
सामराको शतक एनपीएल इतिहासको चौथो शतक हो । यसअघि तीन शतक बनाउने खेलाडीमध्ये दुई पोखराकै थिए । सन् २०२४ मा एन्ड्रेज हाउसले लुम्बिनीविरुद्ध अविजित १०४ रन बनाएका थिए । गत सिजन एडम रोसिङ्टनले कर्णालीविरुद्ध अविजित १०८ रन जोडेका थिए ।
गत सिजन नै कर्णालीका मार्क वाटले लुम्बिनीविरुद्ध ४१ बलमै शतक पूरा गर्दै एनपीएलको सबैभन्दा छिटो शतकको कीर्तिमान बनाएका थिए । उनले उक्त खेलमा ४४ बलमा अविजित ११४ रन बनाएका थिए ।
यसअघि शतक बनेका खेलमा पोखरा पराजित भएको थिएन । तर, यस सिजन भने पोखरा सुरुवाती चारवटै खेलमा पराजित भएको छ ।
कर्णालीका सोमपाल कामीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । मार्क वाटले एक विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।