काठमाडौं– प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जिल्ला, उच्च र सर्वोच्च अदालतमा छिट्टै नयाँ न्यायाधीश नियुक्त हुने बताएका छन्।
आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानन्यायाधीश कार्कीले अहिलेसम्म न्यायाधीश नियुक्त भइसक्नुपर्नेमा ढिलाइ भएको स्वीकारे। तर अब छिट्टै तीनै तहका अदालतमा रिक्त न्यायाधीशको दरबन्दी पूर्ति हुनेगरी नियुक्ति हुने बताए।
उच्च अदालतमा ६० जना न्यायाधीशको पद खाली हुँदैछ। यस्तै, सर्वोच्च अदालतमा ७ जना न्यायाधीशको पद खाली हुँदैछ। जिल्लामा पनि न्यायाधीशहरुको दरबन्दी रिक्त छ।
‘पद रिक्त हुनु अगाडि नै न्यायाधीश नियुक्तिका लागि सिफारिस भइसक्नुपर्ने हो, तर हुन सकेको छैन। यसमा ढिलाइ नै भएको हो। अझै पनि समय छ। न्यायाधीश नियुक्तिमा प्रयासरत छु,’ कार्कीले भने।
कार्कीले न्यायाधीश नियुक्ति तथा सिफारिसका लागि छिट्टै न्याय परिषद्को बैठक बोलाइने बताए। ‘न्यायाधीश नियुक्त नहुने हो भने न्याय सम्पादनको काम प्रभावित हुने देखिन्छ। सेवाग्राहीले समयमै सेवा पाउने अवस्था हुँदैन,’ कार्कीले भने।
कार्कीका अनुसार उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सर्टलिस्टिङको काम समेत भइसकेको छ। तर परिषद्को बैठक नबस्दा नियुक्त गर्न नसकिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।