काठमाडौं- जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडा-बाख्रा मरेका छन्। यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडा-बाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए।
चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको पातारासी गाउँपालिका भेटेरीनरी शाखाका प्रमुख गगन केसीले बताए। सो गाउँपालिकाका स्थानीय कृष्ण ऐडी र मिमबहादुर बोहोराका भेडाबाख्रा चट्याङबाट मरेका हुन्।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ पातारासी हो। पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडा-बाख्रामा ठूलो क्षति गर्ने गरेको कार्यालयले जनाएको छ। भेडाबाख्रा चट्याङबाट मरेपछि घर खर्च चलाउन समस्या भएको उनीहरुले बताएका छन्।
स्थानीय सरकारले राहतको लागि माथिल्लो सरकारी निकायमा पहल गरिदिन अनुरोध गरेको भेडापालक किसान ऐडीले बताए। उनले भने, ‘चट्याङबाट भेडा मरेको जानकारी गराएका छौँ। राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई सहयोगको अपिलसमेत गरेका छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।