काठमाडौं– मनाङ एयरको ९एन–एमभी कलसाइन भएको हेलिकोप्टर रुखमा ठोक्किएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनाका प्रत्यक्षदर्शी समेतले दिएको जानकारीलाई उद्धृत गर्दै सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले रुखमा ठोक्किएका कारण हेलिकोप्टर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको बताए।
सोलुखुम्बुको सुर्केस्थित हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९एन–एएमभी कलसाइन भएको हेलिकोप्टर मंगलबार बिहान ९:५२ बजे दुर्घटनामा परेको हो। हेलिकोप्टर सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ भकाञ्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।
प्रजिअ भट्टराईले ६ जनाको शव भेटिएको जानकारी दिए। हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए।
प्रजिअ भट्टराईका अनुसार घटनास्थलमा प्रहरीको टोली पुगेको छ। २ जना प्रहरी घटनास्थलमा पुगिसकेका र थप सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गइरहेको भट्टराईले जानकारी दिए।
हेलिकोप्टरमा १ जना पाइलट र ५ जना यात्रु थिए। ५ जना यात्रुमध्ये सबै मेक्सिन नागरिक रहेका जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।