काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको १५औं महाधिवेशनअन्तर्गत देशभरका वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
देउवाले कांग्रेसको करिब आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्।
वडा अधिवेशन सुरु हुन लागेको सन्दर्भमा देउवाले भनेका छन्,‘हामीले नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासनका लागि गरेका बलिदान, त्याग र संघर्षलाई थप मजबुत बनाउन पनि १५औं महाधिवेशन हाम्रा लागि निकै महत्त्वपूर्ण छ।’
देउवाले देशभरका ६ हजार ७ सय ४३ वडामा हुने अधिवेशनमा विधि र प्रक्रिया पूरा गरी सहभागी हुन कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘म तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूमा आजदेखि देशभरका ६ हजार ७ सय ४३ वडामा एकै साथ विधि र प्रक्रिया पूरा गरेर सुरु हुन लागेको अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भएर सम्पन्न गर्नुहुन हार्दिक अनुरोध गर्दछु।’
पार्टीभित्रको मतभेदलाई महाधिवेशनमार्फत समाधान गर्दै संगठनलाई थप मजबुत बनाउने प्रतिबद्धता पनि देउवाले व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।