काठमाडौं। लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको छ।
बुधबार भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–० गोलले पराजित गरेको हो। विश्वकप फाइनलमा स्पेनसँग अतिरिक्त समयमा पराजित भएपछि अर्जेन्टिना पहिलोपटक मैदानमा फर्किएको हो। मेसीको अनुपस्थितिमा क्रिस्टियन ‘कुटी’ रोमेरोले अर्जेन्टिनाको कप्तानी गरेका थिए।
अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले १९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। निकोलास पाजले २९औं मिनेटमा गोल थप्दै पहिलो हाफमै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए।
दोस्रो हाफमा क्रिस्टियन रोमेरोले ५४औं मिनेटमा गोल गरे। जोसे मानुएल ‘फ्लाको’ लोपेजले खेल सकिन चार मिनेट बाँकी छँदा चौथो गोल गर्दै अर्जेन्टिनाको ४–० को जित पक्का गरे।
३९ वर्षीय मेसीले गत महिना अन्तर्राष्ट्रिय फुटबलबाट अलग हुने निर्णय गरेका थिए। यद्यपि‚ उनले अर्जेन्टिनाको जर्सीमा अन्तिमपटक आगामी मंगलबार ब्युनस आयर्समा बेनिनविरुद्ध हुने बिदाइ खेलमा मैदान उत्रनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।