काठमाडौं– भारतको अध्यक्षतामा सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलन मंगलबारबाट सुरु भएको छ।
यो शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सि चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, र पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ लगायत आठ देशका प्रमुखको सहभागिता रहेको थियो। यो सम्मेलन भर्चुअलरुपमा उद्घाटन भएको हो।
सम्मेलनको उद्घाटन समारोहमा भारतीय प्रधानमन्त्री मोदीले चरमपन्थी गतिविधिलाई निशाना बनाएका थिए। उनले भने,‘आतंकवाद जुनसुकै रूपको होस्, जसकोविरुद्धमा हामी मिलेर लड्नुपर्छ।’
मोदीले केही देशहरूले सीमापार आतंकवादलाई आफ्नो नीतिको रूपमा प्रयोग गर्दै आएकोलाई त्यस्तालाई प्रसय दिनु नहुने मत राखेका छन्। सो सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सि ले क्षेत्रीय शान्ति सुनिश्चितामा लाग्नुपर्नेमा जोड दिएका छन्।
यस्तै, रुसी राष्ट्रपति पुटिनले पश्चिमा मुलुकहरुको प्रतिबन्ध र उत्तेजनाका खिलाप लड्नुपर्ने धारणा राखेका थिए। रुसमा पछिल्लो महिना त्यहाँको एक निजी सैनिक समूहले घटाएको प्रकरणपछि पुटिन पहिलो पटक सार्वजनकि मञ्चमा देखिएका हुन्।
सांघाई सहयोग संगठन २००१ मा स्थापना भएको थियो। यसले यसभित्र रहेका देशहरुबीच पारस्परिक र सम्बन्ध सुदृढ बनाउने काम गर्ने लक्ष्य राखेको छ।
यसमा माथि उल्लेख गरेका देशका अलावा ताजिकिस्तान, किर्गिस्तान, कजाकिस्तान र उज्वेकिस्तान पनि रहेका छन्। भारत सन् २००५ मा पहिलो पटक पर्यवेक्षकको रूपमा सामेल भएको थियो। र २०१७ मा सदस्यता लिएको थियो।
एससीओलाई चीनको प्रभुत्वमा रहेको संस्थाको आरोप लाग्ने गरेको छ। र यसलाई केही विश्लेषकहरूले अमेरिका विरोधी संगठनको रूपमा पनि हेर्ने गरेका छन्।
यो सम्मेलन भारतले भौतिक उपस्थितिमा गर्न चाहेको थियो तर रुसी राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्री आउनेमा शंका हुन थालेपछि भारतले यसलाई भर्चुअल राख्ने घोषणा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।