प्रधानमन्त्री निवास रहेको बालुवाटारको सरकारी जग्गा
काठमाडौं– बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो। गुरुङ पक्राउ परेको केही समयपछि मंगलबार नै मालपोत र नापी कार्यालयका तत्कालीन अधिकृतहरु गरी ४ जना पक्राउ परेका हुन्।
सीआईबी स्रोतले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख एवम् पूर्व सहसचिव कलाधर देउजा तथा कर्मचारीहरु सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पक्राउ परेको जानकारी दिएको छ।
उनीहरु २०४९ देखि २०६६ सालसम्म मालपोत तथा नापी कार्यालयमा कार्यरत थिए।
बालुवाटारको सरकारी जग्गा अनियमितताका क्रममा सरकारी कागजात कीर्ते र सरकारी दस्तावेज केरमेटमा सहयोग गरेको देखिएको प्रहरीले जनाएको छ।
ललिता निवासको ११३ रोपनी जग्गाको सरकारी दस्तावेज तथा मिसिलहरु गायव पारेर बिचौलियाहरुले नक्कली कागजात खडा गरेर अनियमितता गरेको भेटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।