काठमाडौं– काठमाडौंको कपनमा विभत्स अवस्थामा मृत फेला परेकी निरा पाण्डेको हत्या लुटपाटको मनसायबाट ‘प्रेरित’ भएको देखिएको प्रहरीले जनाएको छ। कपनमा भाँडा–वर्तनको पसल चलाउँदै आएकी निरा वैशाख ७ गते आफ्नै पसलमा मृत फेला परेकी थिइन्।
निराको पसलमा जाने नियमित ग्राहकले उनलाई रगताम्य अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्। त्यसपछि प्रहरीको टोलीले उनलाई ‘उपचारका लागि’ भनेर अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएअनुसार निराको हत्या भएको दिन (वैशाख ७ गते) दिउँसो २ बजेर ४६ मिनेटमा एक व्यक्ति मोटरसाइकलबाट झरेर उनको पसलतर्फ अघि बढेका थिए। त्यसपछि ८ मिनेट बेपत्ता भएका ती व्यक्ति २ बजेर ५४ मिनेटमा केही परको सीसी क्यामेरामा कैद भएका थिए। त्यतिबेला पनि ती व्यक्तिको हुलिया एउटै थियो।
सर्भिलेन्स क्यामेराको सोही फुटेजका आधारमा थप अनुसन्धान अगाडि बढाउँदा प्रहरीले निराको हत्या आशंकामा १ जनालाई पक्राउ गरेको छ। निराको हत्यामा संलग्न भएको धेरै आधारहरु देखिएको भन्दै प्रहरीले झापाबाट विनोद विश्वकर्मालाई पक्राउ गरेको हो। पक्राउ परेका विश्वकर्मालाई प्रहरीले झापाबाट काठमाडौं ल्याउँदै छ।
घटनाको अनुसन्धानका क्रममा विश्वकर्माले ८ मिनेटभित्रमा हत्या गरेर लुटपाट गरी फरार भएको प्रहरीले दाबी गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सीसी क्यामेराको फुटेज हेर्ने क्रममा एक व्यक्ति शंकास्पद हुलिया र गतिविधिसहित निराको पसलतर्फ अघि बढेको पत्ता लगाएको थियो।
सीसी क्यामेराको फुटेजमा देखिएअनुसार ८ मिनेट बेपत्ता भएका ती व्यक्तिले नै हत्या गरेको आशंका गर्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। हत्यापछि पनि ‘हत्यारा’ मोटरसाइकलमा चढेर गएको देखिएपछि प्रहरी परिसर काठमाडौंको टोली मोटरसाइकल चालकसम्म पुगेको थियो।
ती मोटरसाइकल चालक इनड्राइभ (राइडिङ सेयरिङ एप) का राइडर भएको खुलेको थियो। अफलाइन बसेर ती राइडरले शंकास्पद गतिविधि गरेका व्यक्तिलाई गन्तव्यसम्म पुर्याएको खुलेको थियो।
झोला बोकेको, कपाल पछाडि फर्काएको, मुखमा मास्क लगाएको व्यक्ति सीसी क्यामेरामा कैद भए पनि ती को हुन् भन्नेबारे परिसरको टोलीले ठम्याउन सकेको थिएन।
उक्त घटनामा परिसरका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी वृत्त बौद्धको टोलीले अनुसन्धान अघि बढाएका थिए।
सीआईबीका प्रमुख तथा एआईजी किरण बज्राचार्यको नेतृत्वमा अनुसन्धान समिति गठन गरिएको थियो।
एआईजी बज्राचार्यको नेतृत्वमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसी, ब्यूरोकै एसएसपी दिनेश आचार्य, एसपी धर्मराज भण्डारी, प्रहरी वृत्त बौद्धका डीएसपी हरि बस्नेत सम्मिलित ११ सदस्य टोली बनाएको थियो।
उक्त टोलीले सीसीटीभी फुटेजमा देखिएका, तर परिचय खुल्न नसकेका ती व्यक्तिलाई झापाबाट पक्राउ गरेको हो।झापा धुलाबारी घर भएका विश्वकर्मा काठमाडाैं नरेफाँट पछाडि मनोहरा खोलाको करिडोर नजिक एक घरको दोस्रो तलामा भाडामा बस्दै आएका थिए । प्रहरीले उनी बस्ने डेरा पत्ता लगाएर त्यहाँ पुग्दा विनोद थिएनन् । उनी झापा पुगेको सूचना आएपछि प्रहरीले झापाबाट उनलाई पक्राउ गरेको हो ।
उनी केही समय अगाडिसम्म काठमाडौं ठमेलको एउटा नाइट क्लबमा बाउन्सरको रुपमा कार्यरत रहेको समेत खुलेको छ। उनले ठमेलको बाउन्सरको काम विगत तीन महिनादेखि छाडेर पछिल्लो समय चाबहिलको क्लबमा बाउन्सरको काम गरेकाे खुलेको छ।
पक्राउ परेका व्यक्तिले हत्यापछि निराको गलामा रहेको सुनको सिक्री लुटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। शरिरका १८/२० ठाउँमा चक्कु प्रहार गरेर हत्या गरेपछि लुटपाट भएको प्रारम्भिक अनुसन्धान छ।
लुटपाटपछि उक्त सिक्री बालाजुको एक सुन पसलमा लगेर बेचेको प्रहरी अनुसन्धानले देखाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।