काठमाडौं– काठमाडौंको कपनमा विभत्स अवस्थामा मृत फेला परेकी निरा पाण्डेको हत्यामा संलग्न भएको भन्दै प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
काठमाडौंबाट खटिएको प्रहरीको टोलीले झापाबाट १ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा विनोद विश्वकर्मा छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)की एआईजी किरण बज्राचार्य नेतृत्वमा छानबिन समित गठन भएपछि प्रहरीले घटनामा संलग्न रहेको भन्दै झापाबाट युवकलाई पक्राउ गरेको हो।
झापामा पक्राउ परेका व्यक्तिलाई काठमाडौं ल्याउन लागिएको सीआईबी स्रोतले जानकारी दिएको छ।
विनोदको संलग्नता हुनसक्ने धेरै आधारहरु फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। विनोद केही समय अगाडिसम्म ठमेलको एक नाइट क्लबमा बाउन्सरका रुपमा कार्यरत रहेको पनि खुलेको छ।
स्रोतका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेको टोलीले विनोदलाई झापाबाट काठमाडौं ल्याउँदै छ।
कपनमा भाँडा–वर्तनको पसल सञ्चालन गर्दै आएकी पाण्डे वैशाख ७ गते विभत्स अवस्थामा पसलमै मृत फेला परेकी थिइन्। हत्याको १ हप्तासम्म पनि प्रहरीले घटनाको सम्बन्धनमा कुनै ‘सुराक’ समेत फेला नपारेको भन्दै आलोचना भएपछि सीआईबीकी एआईजी बज्राचार्यको नेतृत्वमा अनुसन्धान समिति गठन गरिएको थियो।
समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसी, ब्युरोकै एसएसपी दिनेश आचार्य, एसपी धर्मराज भण्डारी, प्रहरी वृत्त बौद्धका डीएसपी हरि बस्नेतलगायत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।