काठमाडौं– इटालियन क्लब इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। पोर्चुगिज क्लब बेन्फिकालाई समग्रमा ५–३ ले हराउँदै मिलानले युरोपियन च्याम्पियन्स लिगको अन्तिम चरणमा स्थान पक्का गरेको हो।
क्वाटरपाइनलको दोस्रो लेगमा भने मिलानले बेन्फिकासँग ३–३ को बराबरी खेल्यो। पहिलो लेगमा मिलान २–० ले विजयी भएको थियो।
मिलानले १३ वर्षपछि युरोपियन्स लिगको अन्तिम चरणको यात्रा तय गरेको हो। सन् २००९/१० को सिजनमा बायर्न म्युनिखलाई पराजित गर्दै मिलान युरोपियन च्याम्पियन्स लिगको च्याम्पियन बनेको थियो। त्ययसता क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन्।
क्वाटरफाइनलअन्तर्गत बुधबार राति भएको दोस्रो लेगको खेलमा घरेलु टोली मिलानका लागि निकोला बरेल्ला, लोउटारो मार्टिनेज र जोआक्विन कोरेआले गोल गरे। यस्तै, बेन्फिकाका फ्रेडरिक अर्सनेस, एन्टोनियो सिल्भा र पिटर मुसाले बराबरी गोल गरे।
इन्टर मिलानले सेमिफाइनलमा स्थान बनाएसँगै फाइनल प्रवेशका लागि दुई मिलानको भिडन्त हुने भएको छ। फाइनलमा स्थान बनाउनका लागि इन्टर मिलानले सिरी ‘ए’ प्रतिद्वन्द्वी एसी मिलानसँग प्रतिस्पर्धा गर्नेछ।
एसी मिलान नेपोलीलाई २–१ ले पराजित गर्दै सेमिफाइनल पुगिसकेको छ। सेमिफाइनलको पहिलो लेग मे ९ तथा दोस्रो लेग मे १६ मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।