काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सानदार जित हासिल गरेको छ। सोमबार राति भएको खेलमा लिभरपुलले लिड्स युनाइटेडविरुद्ध ६–१ गोलको जित हासिल गर्यो।
लिड्समाथि फराकिलो जित निकाल्ने क्रममा लिभरपुलका लागि मोहम्मद सलाह र डिएगो जोडाले समान २–२ गोल गरे। यस्तै, कोडी गाक्पो र डार्विन नुनेजले १–१ गोल गरे। लिड्सका लुइस सिनिसटेराले १ गोल गरे।
एलान रोड लिड्समा भएको खेलको ३५ मिनेटमा पाहुना टोली लिभरपुलले कोडी गोक्पाको गोलबाट अग्रता लियो। ३९औं मिनेटमा सलाहले गोल गर्दै पहिलो हाफ अगाडि लिभरपुललाई २–० को अग्रता दिलाए।
खेलको ४७औं मिनेटमा लिड्सका लुइस सिनिसटेराले गोल गर्दै खेललाई २–१ को स्थितिमा पुर्याए। तर त्यसपछि लिभरपुलबाट गोलको वर्षा भयो।
५२औं मिनेटमा जोटाले गो गर्दै लिभरपुललाई ३–१ को स्थितिमा पुर्याए। मोहम्मद सलाहले ६४औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि लिभरपुल ४–१ले अघि बढ्यो। ७३औं मिनेटमा जोर्डन हेन्डरसनको पासलाई जोटाले गोलमा परिणत गर्दा लिभरपुलले ५–१ को अग्रता लियो।
मोहम्मद सलाहको स्थानमा मैदान छिरेका डार्विन नुनेजले ९०औं मिनेटमा गोल गरेपछि लिभरपुलले ६–१ गोलको सानदार जित निकाल्यो।
यो जितसँगै लिभरपुल ३० खेलबाट ४७ अंक जोडेर आठौं स्थानमा यथावत् रहेको छ। पराजित लिड्स ३१ खेलबाट २९ अंक जोडेर तालिकाको १६औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।