काठमाडौं– इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ। आइतबार राति वेस्ट ह्यामसँगको खेलमा आर्सनल सुरुवाती २–० को अग्रता जोगाउन नसक्दा २–२ को बराबरीमा रोकिएको हो।
लन्डन स्टेडियममा भएको खेलमा पाहुना टोली आर्सनलले सुरुवाती १० मिनेटमै २–० गोलको अग्रता लिएको थियो। खेलको सातौं मिनेटमा नै गाब्रियल जेससले गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाएका थिए। १०औं मिनेटमा कप्तान मार्टिन ओडेगार्डले गाब्रियल मार्टिनेलीको पासमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए।
तर आर्सनलले सुरुवाती अग्रता जोगाउन सकेन। ३३औं मिनटमा सेड बनेरहमाले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को स्थितिमा पुर्याए।
खेलको ५२औं मिनेटमा आर्सनलले पेनाल्टीको अवसर पाएको थियो। तर बुकायो साका गोल गर्नबाट चुके।
खेलको ५४औं मिनेटमा वेस्ट ह्यामका जारोड बोवेनले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए। त्यसपछि थप गोल नहुँदा खेल २–२ को बराबरीमा रोकियो।
२–२ को बराबरीपछि वेस्ट ह्यामसँग अंक बाँडेको आर्सनल ३१ खेलबाट ७४ अंकका साथ शीर्ष स्थानमा छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीको ३० खेलबाट ७० अंक छ। वेस्ट ह्याम ३० खेलबाट ३१ अंक जोडेर १५औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।