काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने छ। देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी पहाडी भु-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ। साथै उपत्यका लगायत देशका धेरै भू-भागहरुमा तुवाँलोको संभावना रहेको महाशाखाले जनाएको छ।
सोमबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।