काठमाडौं– असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षाको पूर्वानुमान भएपछि सरकारले विपद् पूर्वतयारी तीव्र बनाएको छ।
सम्भावित जोखिमबारे जानकारी लिन मंगलबार गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभाग पुगेका थिए। मन्त्री श्रेष्ठले जोखिमयुक्त क्षेत्रमा समयमै सूचना पुर्याउन र सबै निकायलाई एकीकृत रूपमा परिचालन गर्न निर्देशन दिए।
उनले भोटेकोशी बाढीबाट पाठ सिक्दै यसपटक पूर्वसूचना र उद्धारको तयारीलाई विशेष प्राथमिकता दिनुपर्ने बताए। नदी किनार, जोखिमयुक्त बस्ती तथा अन्य प्रभावित क्षेत्रमा सूचना तत्काल प्रवाह गर्न उनले विभाग र विपद् व्यवस्थापन निकायलाई निर्देशन दिए।
गृहमन्त्री गुरुङले पनि सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको, उद्धार सामग्री तयारी अवस्थामा रहेको र स्थानीय तहमार्फत पूर्वसूचना प्रवाह भइरहेको बताए। उनले नदी तटीय क्षेत्रमा टिम परिचालनदेखि नागरिकलाई सचेत गराउनेसम्मका तयारी भइरहेको जानकारी दिए।
सरकारले असोज ९ देखि ११ गतेसम्म अनावश्यक यात्रा नगर्न, विशेषगरी राति र जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न तथा ट्रेकिङमा रहेकाहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।
विभागका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने प्रक्षेपण गरिएको छ। यसबाट नदीमा पानीको सतह बढ्ने, बाढी, पहिरो र डुबानको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।