काठमाडौं– बिहीबार साँझ झमक्कै रात पर्दैगर्दा आन्दोलनरत मिटरब्याज पीडित माइतीघर मण्डलाबाट भद्रकाली हुँदै शान्तिबाटिकामा आइपुगे। त्यहाँ केही पीडितहरु एकै ठाउँ जम्मा भएर बसेका थिए। केही भने काटिसकेको आलुको चाना पखाल्दै थिए।
सोही समूहमध्येका जोगिन्द्र चौधरी भान्सामा खाना पकाउँदै थिए। भात पाकिसकेको थियो भने दाल उम्लिँदै थियो। ‘आज हामी नपलपरासी बर्दघाटको खाना पकाउने पालो। के गर्नु सात सय जना छौं। एकपटकमा ३० किलो चामल पकाउनुपर्छ। हामीले लिएर आएको चामल तरकारी सकियो। नपुग्ने भएपछि हिजो दानपेटिका थापेर २१ सय ५० रूपैयाँ उठेछ,’ उनी सुनाउँदै थिए।
उम्लिरहेको दाल चलाउँदै त्यहिँ भएकी अर्की महिलाले थपिन्, ‘हामी त न्याय माग्न आएका हौं तर यहाँ छाक टार्न भिख माग्नु परेको छ। मिटरब्याजीलाई कारबाही गरी कपाली तमसुक च्यातेर सरकारले न्याय देला त?’ ‘के दिन्थ्यो होला र उही हामी यहाँ आउनु दुःख मात्रै हो। सरकारले केही गर्दैन’, जोगिन्द्रले थपे।
जोगिन्द्र साउदीमा हुँदा उनकी श्रीमतीले गाउँकै महाजन दिनेश चौधरीसँग आफ्नो चारधुर जग्गा दृष्टिबन्धकमा राखेर सयकडा पाँच रुपैयाँ ब्याजमा एक लाख रूपैयाँ ऋण लिएकी थिइन्। उक्त ऋणको ब्याजसहित ६ महिनाकै अवधिमा उनले दुई लाख ६६ हजार रुपैयाँ बुझाइन्। तर साहुले भने अझै बुझाउन बाँकी रहेको भन्दै थप तीन लाख रुपैयाँ मागे।
‘मैले महिनामा पैसा पठाए पनि त्यसले घरखर्च पुग्दैन थियो। बच्चाहरुको स्कुलको फी तिर्न आवश्यक पर्दा मैले पठाएपछि दुई/तीन महिनामा तिर्छु भन्दै उनले (श्रीमती)ले एक लाख लिइछन्। मैले पैसा पठाएपछि उनले कहिले ३० हजार कहिले २० हजार तिर्दै २ लाख ६६ हजार बुझाइन्,’ उनले भने।
माग गरेको ३ लाख रूपैयाँ नदिएपछि ती महाजनले विदेशबाट एउटा ब्ल्यांकेट र स्मार्टफोन दिए आफूले तमसुक च्यातिदिने भनेका थिए। मोबाइल र ब्ल्यांकेट दिए पनि साहुले तमसुक भने च्यात्छन् भन्ने कुरा जोगिद्रले पत्याएनन्। दिएनन् पनि। साहुले माग गरेको रकम नदिएसम्म तमसुक नच्यात्ने भन्दै धम्क्याएको जोगिन्द्र गुनासो गर्छन्।
०००
उमेरले ७० कटिसकेका कैयुन मन्सुर बाहिर चिसो भुइँमा बसेका थिए। उनी आफ्नो उमेर नागरिकतामा ६३ वर्ष भएको बताउँछन्। ‘६३ वर्ष होइछै, ओना हमर दादा उमेर है। ओही समयमे हमारे जनम दर्ता और मृत्युदर्ता नही बनिछलै। नागरिकता बनवाके टाइम २० वर्ष तोक्ले रहे,’ उनले भने।
सर्लाहीबाट आएका मन्सुर आफूले लघुवित्तबाट ऋण लिएको र लघुवित्तले चर्को ब्याज असुलेर तिर्न नसकेपछि सरकारसमक्ष मिनाहको माग गर्न आन्दोलनमा आएको बताए। ‘ओ गुरुबा मिटब्याजमा नआइछी त कथिमा आइछ,’ मिटब्याजको ऋणबारे सुनाएको भन्दै एक महिला परबाट गाली गर्दै थिइन्। ‘के मिटरब्याज के लघुवित्त, दोनोका समस्या एक है,’ उनले भने।
उनले तीन वर्षअघि घरेलु लघुवित्तबाट ऋण लिएका थिए। उक्त लघुवित्तले महिलालाई मात्र ऋण दिने भएपछि आफ्नी नातिनीको नाममा लघुवित्तमा खाता खोल्न लगाए। त्यसपछि उनले १ लाख ५० हजार रूपैयाँ ऋण लिए।
‘मलाई दिएन। बहुकी बेटीको नाममा एक लाख ५० हजार ऋण लिएँ। त्यसमा ३५ हजार रूपैयाँ कटाएर दियो। तर एक लाख ५० हजारको ब्याज तिर्नुपर्ने रहेछ’, उनी सुनाउँछन्। त्यसपछि उनले उक्त ऋणको किस्ता ६/७ महिनापछि ९ हजार बुझाए। एकपटक बुझाएपछि फेरि किस्ता बुझाएनन्। किस्ता नबुझाएपछि लघुवित्तका कर्मचारीले घरमा ताला लगाइदिने धम्कीसमेत दिए। उनकी नातिनीलाई शौचालयमासमेत थुने। जमिन लिलाम गर्ने धम्की पनि दिएको उनको गुनासो छ।
लघुवित्तको ऋण मिनाहका लागि आन्दोलन भइरहेको जानकारी पाएपछि उनले किस्ता बुझाएनन्। त्यही कारण उनी आन्दोलनमा सहभागी हुन काठमाडौं आएका हुन्।
०००
‘हाम्रो बैंकको ऋण मिनाहा होला त। यो बैंकको चिठ्ठी हेरिदिनुस् न के–के लेखेको छ?’ खाममा रहेको एउटा कागज निकालेर शान्तिबाटिकाको भवनभित्र ओछ्यानमा फूलमतीदेवीले देखाइन्। उक्त चिठ्ठीमा राजश्री सहकारी संस्थाले सावाँब्याज समयमै बुझाउन स्मरण गराएकोबारे लेखिएको थियो। उनले एक वर्षमा बुझाउने शर्तमा २०७६ पुस १३ गते रौतहट पथारा बुधराममै राजश्री सहकारी संस्थाबाट ४ कठ्ठा जमिन धितो राखेर ९ लाख ऋण लिएकी रहिछन्।
उक्त चिठ्ठी अनुसार बाँकी साँवा रकम ८ लाख ९८ हजार ६७.५८ रूपैयाँ र ब्याज १ लाख ५ हजार ४ सय ९ रुपैयाँ जम्मा गरेर १० लाख ३ हजार ४७६. ५८ रूपैयाँ तिर्न बाँकि रहेको भन्दै उनलाई २०७७ कात्तिक ३ गते पठाएको रहेछ।
उनले मासिक १४ हजार त कहिले १२ हजार तिर्दै एक वर्षसम्म ऋण बुझाएको बताइन्। आफूले कति बुझाएँ भन्नेसमेत उनलाई यकिन छैन। पत्र आएदेखि उनीहरुले साँवाब्याज केही बुझाएनन्। अहिले उक्त सहकारीले २० लाख रूपैयाँ माग गरेको फूलमती सुनाउँछिन्।
यस्तै सहकारीको ऋणबाट पीडित रामेश्वर पनि ऋण मिनाह हुन्छ कि भन्दै मिटरब्याजविरुद्धको आन्दोलनमा आएका छन्। यही आन्दोलनबाट आफूहरुलाई पनि सहकारीको ऋणबाट मुक्ति पाइने अपेक्षासहित उनी कागजपत्र बोकेर काठमाडौं आइपुगेका हुन्।
‘यहाँ लघुवित्त पीडित र मिटरब्याज पीडित दुवै आउनु भएको छ। किनकी लघुवित्त र मिटरब्याज एउटै समस्या हो,’ ढोका बाहिर रहेकी एक महिलाले भनिन्। ‘यो बैंकको र मिटरब्याजको ऋण उही हो। हामी गरिब दुखीले यत्रो ऋण कसरी तिर्न सक्छौं। हामीसँग जग्गाजमिन पनि थोरै छ। न रोजगारी नै छ। त्यसैले सरकारले हाम्रो जिउधन बचाउनका लागि भए पनि ऋण मिनाह गर्नुपर्छ’, छेउमा बसेका महेन्द्र मुखियाले भने।
महेन्द्र मुखियाले ओमी लघुवित्तबाट २०७६ मा १५ प्रतिशत ब्याजमा २ लाख २५ हजार रूपैयाँ ऋण लिएका थिए। तर लघुवित्तले २५ हजार धितो राखेर २ लाख दिइएको थियो। त्यो ऋण ३ महिनामै चुक्ता गरे। फेरि उनले विदेश जान ४ लाख रूपैयाँ ऋण लिए।
उनको साथी कतारमा काम गर्थे। ती साथीले उनका लागि भिसा पठाउने भनेका थिए। भिसा लाग्ने समय भएको थियो। कोभिड–१९ ले देशैभर लकडाउन भयो। त्यसपछि उनी विदेश जान पाएनन्। त्यो ऋण लिएको रकम घरायसी काममा खर्च भयो। त्यसपछि उनले महिनाको १० हजारका दरले बुझाउन थाले। तेस्रो महिनामा भने उनले किस्ता बुझाउन सकेनन्।
त्यसपछि उक्त लघुवित्तका कर्मचारीले घरमा ताला लगाएर जग्गा लिलामी गर्ने धम्की दिन थाले। त्यसपछि ४ कठ्ठा खेत स्वावलम्बन लघुवित्तमा राखेर २ लाख ५० हजार रूपैयाँ ऋण लिए र ३० हजार ओमी लघुवित्तलाई बुझाए।
‘त्यति बुझाएपछि ओमीको कर्मचारी २ महिना शान्त भए। फेरि कर्मचारी आएर सताउन थाले। जब लघुवित्तको ऋणविरुद्धको समिति बन्यो। मेरो जिल्लाका अध्यक्ष शिवशंकर महतोलाई सोधेँ। उहाँले सरकारबाट जसरी पनि ऋण मिनाह गराउँछौं भन्ने जवाफ पाएपछि हामीले किस्ता बुझाउन छाड्यौं। र अहिले आन्दोलनमा सहभागी भएका छौं’, उनले भने।
नागरिकको समस्या समाधान गर्ने दायित्व सरकारको भएकाले ऋण मिनाह गर्नुपर्ने उनको माग छ। ‘हामी सरकारको बालबच्चा हो। सरकार हाम्रो अभिभावक हो। जसरी आफ्ना बालबच्चा दुखमा पर्दा बाउआमाले हेर्छन्। त्यसरी नै सरकारले हाम्रो समस्या समाधान गर्नुपर्छ। जति सकिन्छ सरकारले ऋण मिनाह गर्नुपर्छ भन्ने मेरो माग हो’, उनी भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।