काठमाडौं– फरवार्ड लियोनेल मेसीको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ। शर्षस्थानको पीएसजीले घरेलु टोली नाइसमाथि २–० को जित निकाल्यो।
पीएजीको जितका लागि मेसीले १ गोलका साथै १ असिस्ट गरे। डिफेन्डर सर्जियो रामोसले अर्को गोल गरे।
एलिएन्ज रिभिइरा नाइसमा शनिबार राति भएको खेलको २६औं मिनेटमा गोल गर्दै मेसीले पीएसजीलाई सुरुवाती अग्रता दिएका थिए। मेसी नुनो मेन्डेसको पासमा गोल गर्न सफल भए।
त्यसपछि खेलको ७६औं मिनेटमा डिफेन्डर रामोसले गोल गरे। रामोस मेसीको पासमा गोल गर्न सफल भएका थिए।
पीएजीले नाइसको १४ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लगाइदियो। ७ जनवरी २०२३ मा कप डि फ्रान्समा ले पुईसँग १–० ले पराजित भएयता नाइस १४ खेलसम्म अपराजित रहेको थियो। १४ खेलमध्ये नाइसले ८ खेलमा जित र ६ खेलमा बराबरी खेलेको थियो।
नाइससँगको जितपछि शीर्षस्थानमा रहेको पीएजीले ६ अंकको स्पष्ट अग्रता कायम गरेको छ। ३० खेलबाट पीएसजीले ६९ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको लेन्सको ३० खेलबाट ६३ अंक छ। पराजित नाइस ४५ अंकसहित आठौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।