कैलाली– कैलालीको गौरीगंगामा जारी जग शक्ति गोल्ड टीएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्ड कपमा बाँकेको कोहलपुर रेसिङ सहारा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबार एपीएफको टोलीलाई ३–१ गोल अन्तरले पराजित गर्दै कोहलपुर रेसिङ सहारा क्लब अन्तिम चारमा पुग्न सफल भएको हो।
खेलको १५औं मिनेटमै पेनाल्टी पाएर अग्रता बनाउन सफल भएको एपीएफमाथि रेसिङ सहारा क्लबले पुनरागमन जित निकाल्न सफल भयो। डी बक्सभित्र रेसिङका खेलाडीको हातमा बल लागेर फल भएपछि पाएको पेनाल्टीमा एपीएफका आस तामाङले उक्त पेनाल्टीलाई गोलमा परिणत गरे।
त्यसपछि निरन्तर दबाबमा राखेको रेसिङका अविनाश थापाले खेलको २८औं र ८७औं मिनेटमा दुई गोल गरे। उसका कृष्ण क्षेत्रीले पहिलो हाफको ४२औं मिनेटमा १ गोल गरे। खेलको प्लेयर अफ दी म्याच अविनाश चुनिए।
प्रतियोगिता अन्तर्गत बिहीबार बाजुराको रानीवन क्लब र नेपाल पुलिसको टिम प्रतिस्पर्धा गर्नेछन्।
‘खेलौं फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगंगा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुने छ। आयोजक गौरीगंगा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बाँके, बर्दिया, नवलपरासी जिल्लाका टिमहरूका साथै नेपाल पुलिस र सशस्त्र प्रहरी बलको टिमको गरी १० टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेतालाई ट्रफीसहित नगद ४ लाख र उपविजेतालाई ट्रफीसहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ। साथै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफीसहित नगद १० हजार पुरस्कार दिइने छ।
सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्न, नगर क्षेत्रमा खेलकुदको चहलपहल बढाउन, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिरहेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।