काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब सातदोबाटो युथ क्लबलाई पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को कम्प्लेक्समा भएको खेलमा जावलाखेल सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो। जितसँगै जावलाखेलले ६ खेलमा १३ अंक जोडेको छ।
जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो मोसाबीले एक–एक गोल गरे। यता सातदोबाटोका लागि भने दीपकसिंह ठकुरीले एक गोल फर्काए। खेलको ४३ औं मिनेटमा फोफानाले पेनाल्टीमार्फत गोल गर्दै जावलाखेललाई पहिलो अग्रता दिलाए। त्यसपछि खेलको ५० औं मिनेटमा मोसाबीले गोल गर्दा जावलाखेलको अग्रता दोब्बर बनाए।
खेलको ७५ औं मिनेटमा सातदोबाटोका दीपकले एक गोल फर्काए पनि जावलाखेल २–१ ले विजयी भयो। पराजित सातदोबाटो ६ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा झरेको छ।
त्यसैगरी सातदोबाटोस्थित च्यासल मैदानमा आजै भएको अर्को खेलमा न्यूरोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
खेलको २० औं मिनेटमा चर्च ब्वाइजका आशिष चौधरीले गोल गरे। त्यस्तै खेलको ६२ औं मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई २–० को अग्रता दिलाए तर त्यो चर्च ब्वाइज क्लबको उक्त अग्रता लामो समयसम्म टिक्न सकेन।
खेलको ७१ औं मिनेटमा एनआरटीका रोहन खड्कीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए। त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा एनआरटीका अर्का खेलाडी सरोज तामाङले एक गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकियो।
यस बराबरी खेलसँगै एनआरटीले ६ खेलमा ३ अंक जोडेको छ भने चर्च ब्वाइजले ६ खेलमा १२ अंक जोडेको छ। चर्च ब्वाइज अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।