काठमाडौं- आर्थिक दोहनका कारण टाट पल्टिएको नेपाली फुटबल पुनः अफ्ठेरो अवस्थामा पुगेको छ। नेपाली फुटबलको आधिकारिक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) आर्थिक अभावमा यतिबेला कुनै काम गर्ने अवस्थामा देखिँदैन।
टाट पल्टिएकै कारण १५ चैतदेखि सुरु गर्ने भनिएको ‘बी’ डिभिजन लिग २९ गतेलाई सारिएको थियो। तर त्यो पनि नहुने अवस्थामा छ। जारी शहीद स्मारक लिगको दोस्रो लेगको खेल पनि हुन्छ कि हुँदैन? यकिन साथ भन्न सकिने अवस्था छैन।
एन्फाले ‘सी’ डिभिजन लिग आयोजना गर्दा दर्ता शुल्क वापत प्रत्येक क्लबबाट ५० हजार रुपैयाँ लिएको थियो। तर क्लबलाई अभ्यासका लागि बल त टाढाको कुरा, खेल हुँदा मैदानमा पानीसमेत उपलब्ध गराएको थिएन।
अहिले फुटबल गतिविधि अगाडि बढाउन एन्फाले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को मुख ताकेर बसेको छ। फिफाले ‘ए’ डिभिजनको तयारीका लागि १ लाख डलर पठाएपछि लिग सुरु भएको थियो। दोस्रो लेगको तयारीका लागि एन्फाले थप पैसाको जोहो गर्न नसकेको खण्डमा लिग अवरुद्ध हुने क्लबका एक पदाधिकारीले नेपाल लाइभलाई जानकारी दिए।
यस्तै, ‘बी’ डिभिजन लिगका लागि एन्फाले प्रत्येक क्लबलाई तयारी स्वरुप पहिलो किस्तामा ८ लाख ७० हजार रुपैयाँ निकासा गर्नुपर्ने हुन्छ। एन्फा र ‘बी’ डिभिजन क्लबबीच भएको सम्झौता अनुसार संघले तयारी वापत क्लबलाई १४ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने सर्त छ। यो रकम पनि फिफाले उपलब्ध नगराएको खण्डमा लिग हुने सम्भावना कमजोर छ।
एन्फा प्रवक्ता सुरेश साहले फिफाबाट एन्फालाई रकम प्राप्त भइसकेको बताएका छन्। उनले छिट्टै ‘बी’ डिभिजन लिग पनि सुरु हुने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।