काठमाडौं– लामो दाह्री, सेतै फुलेको कपाल। निधारमा ठूलो टीका। सन्त जस्तै देखिने ८० वर्षीय एक वृद्ध मिटरब्याज पीडितको हुलमा मिसिए। उनी थिए- नवलपरासी, सेरावतका प्रेमनाराण कोइरी।
‘हिँजो १२ बजेदेखि खाना खाएको छैन। अरु फुका चिउरा चपाउँदै आइपुगे। मेरो दाँत छैन चपाउन। भोको पेट लिएर आन्दोलनमा हिँड्नु परेको छ,’ उनी सुनाउँदै थिए।
मिटरब्याजपीडित हुन् कोइरी। ८ वर्षअघि मिटब्याजमा ऋण लिएको र ऋण तिरिसकेर पनि साहुले जग्गा फुकुवा नगरेपछि उनी पटकपटक जग्गा फुकुवाका लागि विभिन्न निकायमा धाए। तर न्याए पाएनन्। न्याय माग्दै काठमाडौं धाएको पनि निकै पटक भइसकेको उनी सुनाउँछन्।
‘म पहिला पनि आएको थिएँ। डेढ महिनासम्म आन्दोलन गर्दा सरकारले न्याय दिलाउने भनेर सहमति गर्यो। तर हामीले अहिलेसम्म न्याय पाउन सकेनौँ। कति पत्रकारले मेरो भिडियो बनाएर लगे, आखिर केही भएन,’ कोइरीले गुनासो पोखे।
पहिला उनको फुसको छानो भएको घर थियो। छिमेकमा सबैले पक्की घर बनाएका थिए। उनको मुल सडकको छेउमा राम्रो जमिन थियो। त्यही जमिनमा उनलाई पक्की घर बनाउने रहर जाग्यो।
‘जमिन त थियो तर घर बनाउने पैसा थिएन। मैले सोचेँ, ऋण लिएर एउटा पक्की घर बनाउँछु। अरु जमिन पनि बाटोको छेउमा छ। बिक्री भइहाल्छ। जग्गा अहिले बिक्री गर्दा सस्तो पर्न जान्छ। बरु ऋण लिएर जग्गाको मोल बढेपछि ऋण तिर्छु भनेर महाजनसँग ऋण लिएको थिएँ,’ उनी सुनाउँछन्।
२०७२ सालमा कोइरीले जीतपुरका बसन्त कुँवरसँग मासिक सयकडा ५ प्रतिशतले तिर्ने गरी डेढ बिघा जमिन दृष्टिबन्धक राखेर ५ लाख रुपैयाँ ऋण लिए। उनले ५ लाख रुपैयाँ नगद लिए तर कुँवरले १० लाख ऋण लिएको कपाली तमसुक बनाएछन्।
ऋण र आफूले जोहो गरेको रकमबाट मुल सडककै छेउमा पक्की घर बनाए। साहुसँग लिएको ५ लाख र आफूसँग भएको ३ लाख थपेर घर बनाए। एक वर्षपछि उनले आफ्नो सडक छेउमा भएको दुई कठ्ठा जग्गा १८ लाखमा बिक्री गरे। त्यसपछि उनी आफूले ऋण लिएको कुँवरकहाँ ऋण तिर्न पुगे। कुँवरले तमसुक निकालेर हिसाब गरे। ब्याजको स्याज र स्याजको पनि ब्याज जोड्दा २० लाख तिर्नुपर्ने सुनाए।
‘ऋण तिर्न जाँदा मात्रै थाहा भो, साहुले मलाई छलेर ५ लाख ऋण लिएकोमा १० लाख तमसुकमा लेखेका रहेछन्। त्यसपछि ब्याजको स्याज, स्याजको पनि ब्याज जोडेर २० लाख रुपैयाँ भएको सुनाए। त्यो सुनेर म त झण्डै बेहोस भएँ,’ उनी सुनाउँछन्।
कोइरीले यो कुरा घरपरिवारमा सुनाए। घरमा छोरा रिसाए। उता महाजनले ऋण नतिरे अदालतमा केस हाल्ने धम्की दिए। त्यसपछि उनले आफूसँग भएको १८ लाख रुपैयाँ दिएर महाजनलाई थमाउन खोजे। १८ लाख दिए तर साहुले उनको जमिन फिर्ता गरेनन्।
‘१८ लाख दिएपछि महाजनले जग्गा वापस गर्छु त भने तर तमसुक च्यातेनन्। अझै दुई लाख मागे। मैले त्यो दुई लाख तिर्न सकिनँ। त्यसपछि मेरो घर मात्र रह्यो। केही दिनपछि आफ्नै छोराले किन ऋण लिएर जग्गा महाजनको नाम गरिदिएको भनेर उल्टै हामी बाउआमालाई घरबाट नै निकालिदियो,’ कोइरीले रुँदै भने।
छोराले घरनिकाला गरेसँगै उनीहरु केही दिन भोकै परे। कहिले टोलमा मागेर खाए। त्यसपछि उनीहरुले सडकको छेउमा छाप्रो हालेर बसे। श्रीमतीसँग केही रकम थियो। त्यो रकमले उनीहरुले सानो व्यवसाय थाले। त्यही छाप्रोबाट तरकारी बिक्री गर्न थाले। सुरुका दिन निकै कठिनले बिते। टोलमै प्रशस्त तरकारी उत्पादन हुने भएकाले बिक्री हुँदैनथ्यो। पछि राख्दै गएपछि तरकारी बिक्री हुन थाल्यो।
‘अहिले दिनमा दुई/चार सय कमाइ हुन्छ। हामी दुई जनालाई खान-लाउन र दबाइ गर्न पुग्छ। खुट्टा सुन्निरहन्छ। उपचार गराउनै पर्यो। एक जमानामा म जमिनदार थिएँ, अहिले सुकुम्बासी भएँ,’ उनी सुनाउँछन्।
उनको खुट्टामा समस्या भएको रहेछ। दायाँ खुट्टा देखाउँदै ‘एउटा खुट्टाको भरमा हिँडेको छु। उभिन पनि राम्रो सक्दिनँ। अहिले पनि सुन्निएकै छ। यसको उपचार गराउँदा तरकारी बेचेको पैसा सकिन्छ,’ कोइरीले भने।
यसअघि उनी कृषि क्षेत्रको काम गर्थे। कृषि फार्ममा गएर कस्ताकस्ता औषधि हालेर किरा मार्नु पर्छ। कुन बालीमा कुन मल हाल्ने जस्ता कामहरु सिकाउने गरेको उनले बताए।
स्कुल पढ्न भारत जानुपर्दा गाउँमा आफैंले विद्यालय खोलेको प्रसङ्ग समेत सुनाए कोइरीले।
उनी बाल्यकालमा निकै टाढाको विद्यालयमा पढ्न जानुपर्ने बाध्यता थियो। त्यो पनि जम्मा आठ कक्षासम्म मात्र पढाइ हुन्थ्यो। त्यसपछि भारतमा पढ्न जानुपर्ने हुन्थ्यो। उनी १३ वर्षका थिए। कक्षा ८ सम्मको पढाइ सकाए। त्यसपछि उनका बुबाले पढ्न भारत पठाए।
भारतमा उनलाई त्यहाँ पढ्न मन लागेन। बरु नेपालमा विद्यालय खोल्न पाए हुन्थ्यो भन्ने सोचिरहन्थे। त्यसपछि त्यहाँबाट नपढी घर फर्किए। ‘२०१२ सालमा गाउँ आएर छाप्रो हालेर विद्यालय खोलेको थिएँ। अहिले त्यो जनता माध्यमिक विद्यालयको नामले चिनिन्छ। मैले विद्यालय खोलेपछि दुई वर्षसम्म त्यहाँ पढाएँ,’ उनले भने।
त्यसपछि उक्त विद्यालय गाउँकै समितिले चलायो। केही वर्षपछि सरकारले चलाउन थालेको उक्त विद्यालयमा अहिले कक्षा १२ सम्मको पढाइ हुने कोइरी बताउँछन्। यस्तै १५ वर्षअघि उनले गाउँमा बाल्मीकि निम्न माध्यमिक विद्यालयसमेत खोलेको बताए। जहाँ अहिले कक्षा ८ कक्षासम्म पढाइ हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।