कैलाली– कैलालीको गौरीगंगा नगरपालिकामा भोलि (मंगलबार)देखि आयोजना हुने जगशक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप २०७९ को तयारी पूरा भएको छ।
‘खेलौ फूटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायीत्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजनामा हुने सुदूरपश्चिम गौरीगंगा गोल्डकपको तयारी पूरा भएको आयोजकले सोमबार पत्रकार सम्मेल गर्दै जानकारी दिएको हो।
प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नेछन्। उद्घाटन खेलमा आयोजक गौरीगंगा ११ स्पोर्टस क्लब र डोटी जिल्लाको टिम भिड्ने छन्। प्रतियोगिता चैत ३० गतेसम्म आयोजना हुनेछ।
प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ। आयोजक गौरीगंगा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बाँके, बर्दिया, नवलपरासी जिल्लाका टिमहरुका साथै नेपाल पुलिस र सशस्त्र प्रहरी बलको टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेतालाई ट्रफीसहित नगद ४ लाख र उपविजेतालाई ट्रफीसहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ।
साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रुपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ भने प्रतियोगिताको ‘म्यान अफ द म्याच’ लाई ट्रफी सहित नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।
सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्न, नगर क्षेत्रमा खेलकुदको चहलपहल बढाउन, व्यवुसायीक खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।