काठमाडौं– प्रधानमन्त्री थ्री नेस्नस कपको उपाधि नेपालले जितेको छ। शुक्रबार भएको फाइनल खेलमा लाओसलाई २–१ गोलले हराउँदै नेपालले जित निकालेको हो।
हाफ टाइप अगाडि १–१ गोलको बराबरीमा रोकिएको थियो। फाइनल खेलमा मनिष डाँगीले ८७ औं मिनेटमा दोस्रो गोल गरेका थिए। जितका लागि मनिषको गोल नै निर्णायक बन्यो।
लाओसले केही पटक प्रयास गरे पनि गोल भने गर्न सकेन। नेपालका लागि पहिलो गोल आयुस घलानले गरेका थिए। हाफ टाइमपछि नेपाल आक्रामक रुपमा प्रस्तुत भएको थियो। यस्तै फाइन खेल हेर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल पनि पुगेका छन्।
१७ औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटपछि नेपालले बराबरी गोल फर्काएको थियो।
बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका थिए। तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको थियो। एरिक विष्टले मिलाइदिएको पासमा बक्स भित्रबाट आयुस घलानले गोल गरेका थिए।
भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका हुन् । नेपालले पहिलो खेलमै लाओसलाई २–० ले पराजित गरेको थियो भने भुटानसँग १–१ को बराबराबरी खेलेको थियो। लाओसले भने भुटानलाई २–१ ले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।