काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले शुक्रबार हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जिते नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्न सहयोग पुग्ने बताएका छन्।
नेपालमा जारी त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनलअघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले उपाधि जिते टोलीमा समावेश भएका नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्ने अवसर हुने बताएका हुन्।
नेपाली टोली शुक्रबार आयोजना हुन लागेको फाइनल खेलका लागि मानसिक र शारीरिक हिसाबमा तयार भएको बताए। उनले टोलीमा नयाँ खेलाडीको बाहुल्यता भएको र उनीहरुको मनोबल उच्च बनाउनका लागि पनि यो प्रतियोगिताको उपाधि निकै महत्वपूर्ण रहेको बताए।
नेपाली फुटबल कठिन समयबाट गुज्रिरहेको अवस्थामा समर्थकलाई खुशी दिलाउनका लागि यो प्रतियोगिता निकै महत्वपूर्ण रहेकोसमेत किरणले बताए। यस्तै नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो एनिसले नेपाली टोलीमा अहिले अधिकांस नयाँ खेलाडी भएको र राम्रो छवि बनाउनका लागि जित निकै आवश्यक भएको बताए।
टोली मानसिक र शारीरिक हिसबमा तयार रहेको भन्दै शुक्रबार नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने बताए। टोलीमा धेरैजसो नयाँ खेलाडी भएकाले सबै खेलाडीका लागि फाइनल खेल राम्रो अवसर भएको बताउँदै प्रशिक्षक एनिसले भुटानविरुद्धको खेलमा चोट बोकेका अञ्जन विष्ट फाइनलमा उपलब्ध हुनेसमेत जानकारी दिए।
भुटानसँग अन्तिम मिनेटमा बराबरीमा रोकिएपछि फाइनलमा स्थान बनाएको लाओसका प्रशिक्षक हान्स मिकेल विसले पहिलो खेलमा नेपालविरुद्ध संघर्ष गरे पनि फाइनलमा राम्रो गर्नेमा विश्वस्त रहेको बताए। घरेलु टोलीविरुद्ध हुने खेल निकै प्रतिष्पर्धात्मक हुने विश्वास राख्दै अहिलेको टोलीमा धेरैजसो खेलाडीले यु–१९ उमेर समूहको भएको र उनीहरुले राम्रो खेल्दै घर फर्किने बताए।
खेल लाओस फुटबलका लागि धेरै अवसर हुने भन्दै टोली कुनै पनि हालतमा जितका लागि खेल्ने हान्स मिकेल विसले बताए। यस्तै लाओसका कप्तान साउकाफोन भोनचेनखामले फाइनल प्रतिष्पर्धाका लागि टोली उत्साहित भएको बताए।
पहिलो खेलमा आफ्नो टोली मौसमका कारण अपेक्षाअनुसार खेल्न नसकेको र केही दिनको बसाईपछि टोली अभ्यस्त भएको भन्दै फाइनल उपाधिका लागि खेल्ने बताए। दुवै टोली उपाधिका लागि प्रतिष्पर्धा गर्दा खेल रोमाञ्चक हुने बताए।
प्रतियोगितामा भुटान, लाओस र नेपालले प्रतिष्पर्धा गरेका हुन्। एन्फाले फिफा विन्डोको अवसरमा आयोजना गरेको प्रतियोगितामा नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गर्दा दोस्रो खेलमा भुटानविरुद्ध १–१ गोलको बराबरी खेलेको थियो। यस्तै लाओसले भुटानविरुद्ध २–१ को नतिजा निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।