काठमाडौं– बर्दिवासदेखि लगातार ११ दिन पैदल हिँडेर ९० जनाभन्दा बढी मिटरब्याज पीडितको टोली काठमाडौं आइतबार काठमाडौं आइपु्ग्यो। उक्त दिन उनीहरु मातातिर्थमा बास बसे। सोमबार उनीहरु मातातिर्थदेखि हिँडेर खुलामञ्च पुगे।
मिटरब्याजीविरुद्ध खुलामञ्चमा आन्दोलन गर्ने योजना उनीहरुको रहेको थियो। तर काठमाडौं महानगरले उनीहरुलाई त्यहाँ छिर्न दिएन। त्यसपछि उनीहरुले खुलामञ्चको गेटअगाडि नै नाराबाजी गरे। रात पनि त्यहिँ कटाए।
मंगलबार भने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गए। साँझ अनामनगरिस्थित गुम्बामा बसे। उनीहरु लगातार ११ दिनकै पैदल यात्रा गरेकैले होला बुधबार तेस्रो दिन भने आन्दोलनमा सहभागी हुन सकेनन्। सबैजसो गुम्बामै बसेका छन्। कोही त बिरामीसमेत परेका छन्।
यीनै पीडितहरुको भीडमा कपाल फुलेर सेतै भएका, धर्के मजेत्रो ओडेर निराश मुद्रामा थिए सप्तरीको खडकपुर नगरपालिका महेन्द्रप्रसाद यादव। उनी पनि ९० जनाको पीडित टोलीसँगै आएका हुन्।
भनिन्छ, ‘आपत पर्दा आफन्त नै सहारा हुन्’, तर उनी आफन्तविरुद्ध नै न्यायका लागि लड्न काठमाडौं आइपुगेका हुन्। उनी अरु कुनै साहु नभएर भान्जा जयनारायण साहबाट ठगिएका हुन्।
आफैं हुर्काएको भान्जाले कपाली तमसुक बनाएर झुक्याए
महेन्द्रका दुई जना दाजुभाइ हुन्। भएकी एउटी दिदीको २०४७ सालमा बिहे भइसकेको थियो। तर उनका भिनाजुले दिदीमाथि सौता हाले। दिदीतिरका तीन छोराछोरीलाई एक्लै हुर्काउन नसक्ने भएपछि भान्जालाई आफैं पालनपोषण गर्ने महेन्द्रले सोचे।
‘दिदीको बिहे भएपछि छोराछोरी भइसकेका थिए। तर पनि भिनाजुले दोस्रो बिहे गरेपछि हेर्न छोड्नुभयो। एक्लै दिदीले तीन छोराछोरी कसरी हुर्काउलिन् भनेर हामीले नै सहयोग गर्ने सल्लाह भयो। बुवाको सल्लाहअनुसार जेठो भान्जा जयनारायणलाई ल्यायौं’ उनले भने।
जयनारायणको रेखदेख महेन्द्रका बाबु–आमाले नै गरे। २०४९ सालमा महेन्द्रले भान्जालाई स्कूल भर्नासमेत गरिदिए। पछि उनले अरु भान्जाभान्जीलाईसमेत दिदीले हेर्न नसक्ने भएकाले आफैं ल्याएर पठाउन थाले। जयनारायणले २०५८ सालमा एसएलसी उत्तिर्ण गरे। तर बीचमा के कारणले हो हजुरबा–हजुरआमासँग मनमुटाव भयो। महेन्द्रले अहिले बच्चै छ भनेर खासै वास्ता गरेनन्।
बाबुले छोरीमाथि सौता हालेका कारण पनि महेन्द्रका बुवाले जयनारायणलाई औधि माया गर्थे। तर बीचमा कुन्नि के कारण पर्यो जयनारायण बाजेसँग झगडा गर्न थाले। दुवैको सम्बन्धमा दरार आयो। २०६४ सालतिर हो भान्जाले महेन्द्रकी आमासँग ७ लाख ६३ हजार रुपैयाँ दिएको कपाली तमसुक बनाए। अक्षरसम्म चिन्न नसक्ने हजुरआमालाई फकाएर उनले १४ कट्ठा जमिन पनि आफ्नो नाममा गरे। रामवतीले नातीको भर परेर भनेको कागजमा खुरुखुरु औंठा छाप लगाइन्।
त्यसको केही समयमा नै महेन्द्रका बुबाआमाको नाममा रहेको जग्गामा घर बनाउन थाले। ‘भान्जाले हाम्रो जग्गामा कसैलाई नसोधी घर बनाउन थालेपछि म त अचम्ममा परेँ। किन यस्तो गरेको भन्दा मात्र थाहा भयो आमालाई फकाएर सात लाख ६३ हजारको तमसुक बनाएर जग्गा आफ्नो नाममा पारिसकेका रहेछन्’, महेन्द्रले सुनाए।
त्यसपछि भने मामा भान्जाको सम्बन्धमासमेत दरार आयो। जयनारायणले उल्टै मामाविरुद्ध अदालतमा मुद्दा हाले। उक्त तमसुकमा औंठाछाप लगाउने रावतीको मृत्यु भइसकेको थियो। त्यसपछि महेन्द्रले पञ्चायतको गुहार मागे। ‘आमा वितिसक्नुभएकाले हामीसँग कुनै प्रमाण नै भएन। मैले पञ्चायत बोलाएँ। पञ्चायतले पनि भान्जालाई पाँच लाख रुपैयाँ तिर्नुपर्ने निर्णय गर्यो।’ अहिले उनको नाममा कुनै जमिन छैन। जम्मा दुई धूरमा बनेको सानो घर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।