काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई असंवैधानिक र प्रतिगामी सरकार भएको आरोप लगाएका छन्।
शुक्रबार एमाले शिक्षा तथा मानव स्रोत विभागले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिलेको परिवर्तनलाई प्रतिगामी क्रियाकलापको संज्ञा दिएका हुन्।
अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि आफू केयर टेकेर प्रधानमन्त्रीको हैसियतले राष्ट्रपतिलाई संविधानको रक्षक र पालक भएकाले संविधान भित्रैबाट निकास खोज्न सिफारिस गरे पनि त्यसविपरित संसद् बाहिरबाट प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त गरिएको भन्दै त्यो प्रतिगामी कदम भएको बताए। साथै उनले यस कदममा एमाले संलग्न नभएको समेत दाबी गरे।
‘असंवैधानिक सरकार, कुनै संविधानले नगर्नु भनेको ठाउँमा, प्रधानन्यायाधीश (प्रधानमन्त्री) हुन मिल्दैन। मानव अधिकार आयोगमा बाहेक कुनै जागिरमा मिल्दैन,’ उनले भने, ‘जानीजानीकन पूर्व प्रधानन्यायाधीश भएको मानिस आफैंले संविधान मिचेर प्रधानमन्त्री हुन तयार, यो भनेको सोझै असंवैधानिक, प्रगिगामी संविधान मिचुवा, हाहुको भरमा बनेको सरकार हो।’
‘हामी कहीँ कतै प्रतिगमनका पूर्ण वा आंशिक मात्रामा मतियार भएका छैनौ र हुँदैनौ’, ओलीले भने– ‘नेकपा एमाले लोकतन्त्र, लोकतान्त्रिक प्रणाली र लोकतान्त्रिक प्रक्रियाको पक्षमा छ।’
त्यस्तै उनले ज्ञानेन्द्रको शासनविरुद्ध संघर्ष गरेर आएको एमाले अहिलेको २ दिने अराजकतासँग नझुक्ने टिप्पणी गरे।
‘२४ गतेको आगजनी र तोडफोडको बलबाट बनेको सरकार यो कुनै संविधानअनुसार बनेको होइन जनअनुमोदनबाट बनेको होइन’ उनले भने, ‘यसको वैरभाव लोकतन्त्रसँग छ। संविधानसँग छ, जनताको प्रतिनिधित्वसँग छ, लोकतान्त्रिक प्रणाली र प्रक्रियासँग छ, संसद र प्रतिनिधिसभासँग छ।’
राजतन्त्रकालीन प्रतिगमन देखिने भए पनि अहिलेका प्रतिगमनकारी अदृश्य रहने उनले तर्क गरे। अदृश्य रहने, कमजोर, कुनै ग्राउन्ड नभएका, इतिहास न परम्पराको टेको, न जनसमर्थनको आधार केही पनि नभएका’ उनले भने, ‘हाहुमा आगो लगाएको भरमा, लुटेको भरमा तोडफोड गरेको भरमा, अराजकता आतंक मच्चाएको भरमा आतंकारी अभ्यास गरेको भरमा बनेको सरकार।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।