काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई फेदटुप्पो केही नभएको सरकारको संज्ञा दिएका छन्।
शुक्रबार एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले जनेजी आन्दोलनको समेत जग नभएको बताए। अहिलेको परिवर्तनलाई राजतन्त्रसँग तुलना गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
‘यो फेद न टुप्पोको सरकार। जरा पनि छैन, हाँगा पनि छैन। पहेँलो लहरोजस्तो’, ओलीले भने, ‘आकाशवेली सरकारले हामीजस्तो मान्छेलाई पासपोर्ट रोक्का गर्छ।’ उनले वर्तमान सरकारलाई अनुत्तरदायी भन्दै आफूलाई सुकरातसँग तुलना गरे।
‘केपी ओली भागेर जान्छ ? मर्न परे यस देशमा मर्छ। सुकरात त्यसबेला भागेनन्। आजको केपी ओली भाग्छ। के सोचेको होला ?’ उनले भने, ‘आफूजस्तै ठानेर पासपोर्ट रोक्का। त्यस जमानामा सुकरात भागेका थिएनन्। उनको कुनै ठूलो राजनीतिक, समाज के के न बनाइहाल्छु भन्ने केही उद्देश्य पनि थिएन र पनि भागेका थिएनन्।’
उनले प्रश्न गरे, ‘मैले अस्तिनै भनेँ यो हाहुमा बनेको गैरजिम्मेवार कसैप्रति जिम्मेवार नभएको असंवैधानिक सरकारलाई अनुत्तरदायी सरकारलाई देश सुम्पिएर केपी ओली भागेर जान्छ ?’
उनले डिस्कर्डबाट चुनाव गरेर शासनमा पुगेको भन्दै मतपत्र कस्तो थियो भनेर जेनजीलाई प्रश्न गरे। ‘डिस्कर्डबाट शासनमा पुगेका रे ! डेमोक्रेसीमा कहीँ डिस्कर्डबाट शासन हुन्छ ?’ओलीले प्रश्न गर्दै भने, ‘डिस्कर्डमा भोटिङ पनि गर्या रे ! दुई तीन हजार केटाकेटी जम्मा भए अनि भोटिङ पनि गरेका रे ! कसले गन्यो ? मतपत्र कस्तो थियो ? रेजा लगायो कि प्वाल पार्यो अमेरिकाको जस्तो ?’।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।